
मंसिर ६ ।
आगामी निर्वाचनका लागि मतदाता नामावली संकलनको म्याद हिजो साँझ ५ बजे समाप्त भएको छ। निर्वाचन आयोगले यसपटक अनलाइन प्रणालीमार्फत पनि फारम भर्न सकिने व्यवस्था उपलब्ध गराएपछि हालसम्म ७ लाखभन्दा बढी नयाँ मतदाता नामावलीमा थपिएको आयोगले जनाएको छ।
यसैबीच, निर्वाचन तयारीका क्रममा हिजोसम्म ३३ राजनीतिक दलले आगामी निर्वाचनमा सहभागी हुन दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएका छन्।
आयोगले जारी गरेको कार्यक्रमअनुसार प्रारम्भिक मतदाता नामावली मंसिर २० गते प्रकाशित हुनेछ। नामावलीमा त्रुटि देखिएमा मंसिर २१ देखि २७ गतेसम्म अनलाइन वा सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत सच्याउन निवेदन दिन सकिनेछ।
यदि कसैले झुट्टा विवरणका आधारमा नामावलीमा नाम दर्ता गराएको छ भने त्यसको विरोध गर्न, एउटै व्यक्तिको नाम विभिन्न स्थानमा दर्ता भएको छ भने एउटै स्थानमा कायम गराउन, र मृत्यु वा नागरिकता त्यागिसकेकाको नाम हटाउन समेत निवेदन दिन सकिने व्यवस्था आयोगले स्पष्ट पारेको छ।
जाँचबुझ तथा आवश्यक संशोधनपछि अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमार्फत प्रकाशित गरिनेछ।




