यशोधरा–५ मा १६ दिने अभियानअन्तर्गत सांस्कृतिक कार्यक्रम : सचेतना, सहभागिता र परिवर्तनको साझा आवाज

यशोधरा–५ मा १६ दिने अभियानअन्तर्गत सांस्कृतिक कार्यक्रम : सचेतना, सहभागिता र परिवर्तनको साझा आवाज

सत्रुहन खरबिन्द ,मंसिर १६, कपिलवस्तु ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत यशोधरा गाउँपालिका–५ बैदौलीमा आज एक भव्य सांस्कृतिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। “प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुख्य नाराका साथ आयोजित कार्यक्रमले समुदायमा सचेतना, संवाद र सहभागितामार्फत सामाजिक परिवर्तनको आवश्यकता सशक्त रूपमा उठाएको छ।

कार्यक्रममा दलित सामाजिक विकास केन्द्र डंगरी द्वारा सञ्चालित महिला सशक्तीकरण तथा बालअधिकार संरक्षण परियोजना (हाम्रो पहुँच) की कार्यक्रम अधिकृत बिन्दबसनी हरिजनले अभियानका उद्देश्य, गतिविधि र उपलब्धि विस्तृत रूपमा राख्दै १६ दिने अभियान मात्र पर्याप्त नभइ निरन्तर सचेतना, शिक्षा र सामूहिक जिम्मेवारी जरुरी रहेको बताइन्।

अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय बैदौलीका सहायक प्रधानाध्यापक राम सेवक यादवले अभिभावकलाई बालबालिकाको मोबाइल प्रयोग, शिक्षा, खानपान र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्दै शैक्षिक गुणस्तर वृद्धि सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

त्यस्तै महिला विकास शाखा, यशोधरा गाउँपालिकाकी रमा पन्थीले महिलाको आर्थिक सबलीकरणबिना लैङ्गिक हिंसा अन्त्य सम्भव नहुने बताउँदै सीप, उद्यमशीलता र रोजगारीका अवसरमा पहुँच बढाउन स्थानीय सरकार निरन्तर काम गरिरहेको जानकारी दिइन्।

वडा अध्यक्ष जुबेर अहमद मुसलमानले लैङ्गिक हिंसा वा विभेदको कुनै पनि घटना नदबाई वडा कार्यालयमा खुला रूपमा जानकारी गराउन आग्रह गर्दै आफूहरू सधैं सहयोग र समन्वयका लागि तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

उपाध्यक्ष गुन्जादेवी मौर्याले शिक्षा र चेतनाका माध्यमबाट कुसंस्कार, विभेद र हिंसा अन्त्य गर्न स्थानीय सरकार निरन्तर सक्रिय रहेको बताउँदै सामुदायिक स्तरका कार्यक्रमले परिवर्तनको बाटो तय गर्ने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा अवध जगरण मिडिया कपिलवस्तुको संयोजनमा कलाकार रमाशंकर राय, उजालो सहानी, कपिल धवल, सम्भू कुमार नेह र ध्रमेन्द्र कुमारले लैङ्गिक हिंसा, विभेद तथा समाजिक विकृति विरुद्धका गीत प्रस्तुत गर्दै कार्यक्रमलाई प्रभावकारी बनाएका थिए।

शान्ति महिला वडा स्तरीय सञ्जालकी अध्यक्ष हसिना बनोले व्यक्तिगत सोच र मानसिकता परिवर्तन नै हिंसा अन्त्यको मूल उपाय भएको बताउँदै सहभागी सबैप्रति धन्यवाद व्यक्त गरिन्।

कार्यक्रम Kinder Not Hilfe को सहयोग, यशोधरा गाउँपालिका कार्यालयको समन्वय र दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा सम्पन्न भएको हो।
स्वागत मन्तव्य विन्देश्वरी त्रिपाठीले राख्नुभएको थियो भने कार्यक्रमको सफल सञ्चालन अवध जगरण मिडियाका सञ्चालक निरहु यादवले गर्नुभएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *