
प्लाई फैक्ट्रीले कृषि प्रयोजनका लागि ल्याइएको युरिया मल उद्योगमा प्रयोग गरिँदा किसानहरू मल अभावको गम्भीर समस्यामा पर्ने गरेका छन् । सशस्त्र प्रहरी बल र भन्सार गस्तीको संयुक्त टोलीले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं–७ रुद्रपुरस्थित जय अम्बे प्लाईउड इन्डस्ट्रिज प्रालिमा छापा मार्दा १८१ बोरा भारतीय युरिया मल बरामद भएपछि उक्त विषय सार्वजनिक भएको हो ।
कृषि क्षेत्रमा प्रयोग हुनुपर्ने युरिया मल उद्योग प्रयोजनका लागि दुरुपयोग हुँदा खेतीपातीको सिजनमा किसानले आवश्यक मल नपाउने अवस्था सिर्जना हुने गरेको सरोकारवालाहरू बताउँछन् । यसले उत्पादन लागत बढ्नुका साथै कृषकको आयमा समेत नकारात्मक असर पर्ने गरेको छ ।
सशस्त्र प्रहरी बलका डिएसपी तुला चौधरीका अनुसार बरामद गरिएको युरिया मल आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा पठाइएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
सीमावर्ती क्षेत्र हुँदै हुने मलको अवैध ओसारपसार, भण्डारण तथा उद्योगमा हुने दुरुपयोग रोक्न सशस्त्र प्रहरी र भन्सार कार्यालयले संयुक्त रूपमा अनुगमन तथा गस्तीलाई थप कडाइ गरेको जनाएको छ ।



