
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालय परिसरमा ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम २०८२ माघ १२ गते आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता प्रमुख भन्सार अधिकृत श्री फणिन्द्र खतिवडा ले गर्नुभएको थियो भने जिल्ला प्रशासन प्रमुख जनार्दन गौतम प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
कार्यक्रममा भन्सार प्रशासनको भूमिका, राजस्व संकलनमा व्यवसायीहरूको योगदान तथा व्यापार सहजीकरणका विषयमा चर्चा गरिएको थियो। सो अवसरमा उत्कृष्ट योगदान गर्ने उद्योग, निकासीकर्ता, भन्सार एजेन्ट तथा कर्मचारीलाई सम्मान गरिएको छ।
भन्सार कार्यालयका अनुसार चालु आर्थिक अवधिमा सबैभन्दा बढी राजस्व बुझाउने उद्योगका रूपमा विजय स्टिल प्रा.लि. लाई सम्मान गरिएको छ। उक्त उद्योगले ५४ करोड ७७ लाख रुपैयाँ राजस्व बुझाएको जनाइएको छ।
त्यसैगरी उत्कृष्ट निकासीकर्ता (Exporter) का रूपमा सम्राट सिमेन्ट प्रा.लि., दाङ लाई सम्मान गरिएको छ। कम्पनीले ४४ करोड ७६ लाख रुपैयाँ बराबरको राजस्व तिरेको भन्सार कार्यालयले जनाएको छ।
कार्यक्रममा एक जना भन्सार एजेन्ट तथा एक जना उत्कृष्ट कर्मचारी लाई समेत सम्मान गरिएको थियो। उनीहरूको इमानदार सेवा, कार्यक्षमता र भन्सार प्रशासनलाई सहयोग पुर्याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको भन्सार कार्यालयले जनाएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख (एसपी), भन्सार कार्यालयका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले पारदर्शी भन्सार प्रणाली, करदाता मैत्री सेवा, सुशासन र निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै राजस्व संकलन वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
कृष्णनगर भन्सार कार्यालयले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, व्यापार सहजीकरण र करदातामैत्री वातावरण निर्माण गर्दै भन्सार प्रशासनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




