
कृष्णनगर नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाको आयोजनामा चौथो कृष्णनगर स्तरीय राष्ट्रपति तथा मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को सचिवालय उद्घाटन समारोह बहादुरगञ्जस्थित श्री रामगोरखा माध्यमिक विद्यालय, कृष्णनगर–९ मा सम्पन्न भएको छ।
कृष्णनगर स्तरीय राष्ट्रपति तथा मेयर कप रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक तथा नगर प्रमुख रजत प्रताप शाहको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विभिन्न पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। उक्त प्रतियोगिता मिति २०८२ साल फाल्गुन ०६ गतेदेखि ०९ गतेसम्म सञ्चालन तथा व्यवस्थापन गरिने शिक्षा शाखा प्रमुख कौशल कुमार तिवारीले जानकारी दिएका छन्।
कार्यक्रममा विद्यार्थी खेलाडीहरूको प्रतिभा विकास, अनुशासन र स्वस्थ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्ने उद्देश्य व्यक्त गरिएको थियो। प्रतियोगिताअन्तर्गत विभिन्न खेल विधामा ७ वटा सामुदायिक माध्यमिक विद्यालय तथा ८ वटा संस्थागत माध्यमिक विद्यालयका छात्र–छात्राबीच प्रतिस्पर्धा गराइने आयोजक समितिका सदस्य सचिव प्रदिप कुमार सिंहले जनाएका छन्।
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले प्रतियोगितालाई सफल बनाउन सबै पक्षको सहकार्य र सहयोग आवश्यक रहेको बताएका छन्।



