कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ११ जना घाइते

कपिलवस्तुमा बस–ट्रक ठोक्किँदा एक जनाको मृत्यु, ११ जना घाइते

कपिलवस्तु, १६ असोज । कपिलवस्तुको शिवराज नगरपालिका–२ चोरखोलामा बस, ट्रक र टिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
बिहीबार बिहान करिब ६ः२० बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना.६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.२ ख २४७९ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बससँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ट्रक चालक मोरङ कान्छीपोखरी गाउँपालिका–२ का २४ वर्षीय रुपेश धिमाल र टिपर चालक कपिलवस्तु बुद्धभूमि नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घाइते ११ जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *