सुडान द्वन्द्व : दुई सय जनाको मृत्यु, एक हजार आठ सय घाइते


सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब दुई सय जनाले ज्यान गुमाएका छन्भने एक हजार सय जना घाइते भएका छन्।
सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायतक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ। भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ।
अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति संघर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो।
सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ। आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ।
सुडानमा जारी युद्ध लामो समयसम्म चर्कने चेतावनी विश्लेषकहरूले दिएका छन्। युद्धविरामका लागि क्षेत्रीय एवम् विश्वव्यापीरूपमा आह्वान भए पनि सम्बद्ध पक्षले त्यसलाई वेवास्ता गरेका छन्। विश्व शक्ति राष्ट्रले वार्ताको माध्यमबाट समस्याको निकास खोज्न आग्रह गरेका छन् तर त्यसको सुनुवाई भएको छैन।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले द्वन्द्वरत दुवै पक्षका सेना प्रमुखसँग मंगलबार टेलिफोन गरेर तत्काल युद्धविराम गर्न आह्वान गरेका छन्। साथै उनले सुडानमा कार्यरत कूटनीतिक कर्मचारी र सहायताकर्मी सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससहित बेलायत, अमेरिका, युरोपेली संघ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन्।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्बीले खार्तुमबाट अमेरिकी कर्मचारीलाई उद्धार गर्ने कुनै योजना नरहेको बताएका छन्। हाल खार्तुम विमानस्थल बन्द छ भने सुरक्षा चासो बढेको छ।
सोमबार खार्तुमको मुख्य विमानस्थलमाथि धुवाँको बादल देखिएको थियो भने टेलिभिजनमा आगो र विष्फोटका दृश्य प्रसारण गरिएका थिए।

Leave a Comment

Your email address will not be published. Required fields are marked *