
मोरङ। नागरिक मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय फोरम, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तिकरणका लागि जागरण अभियानबीच आज यहाँ पार्टी एकता घोषणा बैठक आयोजना भएको छ ।
१० बुँदे पार्टी एकतामा उन्मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाज संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र प्रचारक विनोद पाण्डेले हस्ताक्षर गरेका छन् ।
एकता घोषणा बैठकको उद्घाटन गर्दै भूमि व्यवस्थामन्त्री चौधरीले यो पार्टी उत्पीडनको विरुद्धमा जन्मेको बताए । उनले सुदूरपश्चिमको टीकापुरमा भएको घटना देशका अन्य भागमा नदोहोरियोस् भनेर एकजुट हुनुपर्नेमा जोड दिए । मन्त्री चौधरीले जनताको राजबन्दी मुक्ति र विकासको चाहना पूरा गर्न निर्वाचनमा भाग लिएर सदन र सरकारमा सहभागी भएको बताए ।
संघीय लोकतान्त्रिक फोरमका अध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष एभी पण्डक लिम्बु, उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर पण्डित, कोचिला संघर्ष समितिका अध्यक्ष चौधरीलगायतले उत्पीडित, विभेद र पिछडिएका जातिको उत्थान गरी पहिचानवादीले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।