
काठमाडौं । देशका विपन्न नागरिक बिरामी भए भने उपचार गर्दा गर्दै घरखेत सबै सिध्दिन सक्छ ।यति हुँदा पनि कतिपय अवस्थामा विरामी निको पनि हुँदैनन् ।
अस्पतालको बिल देखेर आफ्नो उपचार भएको अस्पतालकै माथिल्लो तल्लाबाट हाम्फालेर केहीले ज्यानै दिएका पनि छन् ।
हाम्रो देशमा रक्सी र चुरोट पिउन सजिलो होला, उपचार पाउन मुस्किल छ । आर्थिक अवस्था राम्रो छ वा कुनै बिरामी राष्ट्रको विशिष्ट व्यक्ति हो भने त उसका लागि समस्या नहोला ।
किनभने विदेशमै पु¥याएर भए पनि विशिष्ट व्यक्तिको उपचार सरकारले नै गरिदिन्छ । देशका राष्ट्रपति, प्रधानमन्त्रीको उपचार हुनु पनि पर्छ । उपचार गर्ने पैसा नभएर नेपालका प्रधानमन्त्री वा राष्ट्रपतिको निधन भन्ने खबर सुनिनु पनि त भएन । यहासम्म ठिक छ । बेठिक के मात्रै हो भने कम्तिमा उपचार खर्च नहुँदा जनताले पनि मर्नु चाहिँ भएन ।
यस्तै प्रश्नहरुले जनताको मनमा घर गरिरहेको बेला, राष्ट्रपति रामचन्द्र पौडेल विरामी हुनु भयो ।
राम्रो उपचारका लागि उहाँलाई भारत लगियो । उहाँको विदेशमा गरिएको उपचार खर्चबारे प्रश्न उठेपछि राष्ट्रपतिको सचिवालयले भन्यो – भारतमा लागेको उपचार खर्च राष्ट्रपति आफैंले व्यहोर्ने चाहना राख्नु भएको छ । राष्ट्रपतिको यो चाहना स्वभाविक हो कि सार्वजनिक खपतका लागि मात्रै त ?
प्रचलित ऐन तथा कार्यविधि मिचेर विशिष्ट व्यक्तिहरुले राज्य कोषबाट मनलाग्दी उपचार खर्च लिन नहुने आवाज चर्को हुँदै गएपछि राष्ट्रपति रामचन्द्र पौडेलले १० दिनसम्म भारतमा उपचार गर्दा लागेको खर्च आफैंले व्यहोर्ने इच्छा प्रकट गरेका छन् ।
छातीको संक्रमणविरुद्धको एन्टिबायोटिकले राम्रो काम नगरेपछि त्रिवि शिक्षण अस्पतालका विज्ञ चिकित्सकहरुले राष्ट्रपतिलाई थप उपचारकालागि भारत जान सल्लाह दिएका थिए । सोही बमोजिम उनलाई भारत पु¥याइएको थियो ।
आइतबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिधि मिचेर विशिष्ट व्यक्तिहरुले उपचारका नाममा राज्यकोषको दुरुपयोग गर्न नहुने विचार राखेका थिए ।
महामन्त्री थापाको जस्तै आवाज जनस्तरबाट पनि उठिरहेको थियो । तर कांग्रेसकै विरासतबाट राष्ट्रपति भएका पौडेलले पार्टीका महामन्त्रीको अभिव्यक्ति लगतै खर्च व्यहोर्ने इच्छा प्रकट गरे ।
उपचार खर्च आफैंँ व्यहोर्ने राष्ट्रपतिको चाहना कि बाध्यता ?
उपचार खर्च आफैँ व्यहोर्ने चाहना राखेपछि धेरैले राष्ट्रपतिको यस्तो चाहनालाई सकारात्मक सुरुवातको रुपमा चर्चा गर्न थालेका छन् । तर यससँगै राष्ट्रपतिको यो चाहना नै होकि वा कुनै खर्च आफैँ तिर्नुपर्ने बाध्यताले निम्त्याएको परिस्थीति ? भन्ने प्रश्न उठेको छ ।
राष्ट्रपति निकटहरुका अनुसार पौडेलले ‘मुलुक आर्थिक मन्दीमा गुज्रिरहेको बेला राष्ट्रप्रमुखले राज्यलाई आर्थिक भार पर्ने गरी ठूलो खर्च गरिदिनु हुँदैन’ भनेका थिए ।
सोही बमोजिम उनको सचिवालले मंगलबार प्रेस विज्ञप्ति पनि जारी गर्यो । बैशाख ६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति पौडेल उपचारका लागि ‘विदेश जान मानिरहनु भएको छैन’ भनेका थिए ।
पौडेललाई विदेश गएर उपचार गराउन दबाब दिएको प्रधानमन्त्री स्वयंले सार्वजनिक रुपमा स्वीकार पनि गरेका थिए ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको विदेशमै उपचार गराउँदा पनि खर्च सरकारले व्यहोर्ने प्रष्ट कानुनी व्यवस्था छ ।
सरकारी सुविधामा उपचार गराउँदा केही प्रक्रिया चाहिँ पूरा गर्नु पर्छ । भारत जाने बेला सरकारले त्यस्तो कानुनी प्रक्रिया पूरा नगरेको, अहिले सरकारी कोषबाट खर्च लिन झन्झट भएपछि राष्ट्रपति स्वयंले खर्च व्यहोर्ने भनेर प्रचार गरिएको टिप्पणी पनि भइरहेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुुविधा सम्बन्धी ऐन २०७४’ अनुसार विदेशमा उपचार गर्न जानु अघि नेपालमा उपचार सम्भव नभएको भनेर मेडिकल बोर्डले सिफारिस गर्नु पर्ने हुन्छ ।
राष्ट्रपति उपचारमा जानुपूर्व नै मेडिकल बोर्डको सिफारिस लिनुपर्नेमा त्यसो गरिएको थिएन । सिफारिस बिना सरकारले उपचार खर्च भुक्तानी गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।
सो ऐनमा भनिएको छ– राष्ट्रपति वा उपराष्ट्रपति स्वदेशमा अस्पताल भर्ना भई उपचार गराउँदा वा नेपालमा उपचार हुन नसक्ने भई मेडिकल बोर्डको सिफारिसमा विदेशमा गई उपचार गराउँदा लागेको उपचार खर्च नेपाल सरकारले व्यहोर्नेछ । तर राष्ट्रपति पौडेल यो प्रक्रिया पूरा नगरेको पाइएको छ ।
ऐनले पनि स्पष्ट भन्छ कि राष्ट्रपतिको अहिलेको परिस्थिति चाहना नभई बाध्यात्मक हो ।
राष्ट्रपति कार्यालयले यसअघि सार्वजनिक गरेको विज्ञप्तिमा बोर्डको नभई चिकित्सकको सल्लाहमा गएको भनिएको छ ।
उसो त राष्ट्रपतिको उपचारमा कति खर्च भयो भन्ने एकिन विवरण त सार्वजनिक भइसकेको छैन् ।
राष्ट्रपति कार्यालयले जनाए अनुसार भारतको एम्स अस्पतालले खर्चको विल भारतस्थित नेपाली दूतावासमा पठाउने छ ।
त्यसपछि दूतावासले विल नेपाल सरकारलाई पठाएपछि भूक्तानी हुनेछ । तर ऐनमा उल्लेख गरिएको प्रकृया पूरा नगरी गरिएको उपचारको खर्च सरकारले कसरी व्यहोर्ला ? यो भने हेर्न बाँकी छ ।