भूमिहीनहरुलाई लखेटेर काँग्रेसले बनायो कार्यालय, नेताहरु भन्छन् – ‘यो समाचार नबजाइदिनुस्’ (भिडियो)

भूमिहीनहरुलाई लखेटेर काँग्रेसले बनायो कार्यालय, नेताहरु भन्छन् – ‘यो समाचार नबजाइदिनुस्’ (भिडियो)

कैलाली । कैलालीको एउटा सामुदायिक वनमा छाप्रो हालेर बसेका भूमिहिनहरुलाई त्यहाँको नगरपालिका र वन मिलेर हटाइयो । नगरपालिकाको डोजर गरिबका टहरामा चलेपछि विचल्लीमा परेका भूमिहिनहरुको रोदन र क्रन्दनले सामाजिक सञ्जाल छपक्कै छ ।

गरिब त यसै पनि रुन बाध्य छन् । तर रुवाउनुको पनि हद पार गरे झै लाग्ने गरिबको आँशूले धेरैको मन छोएको त्यो घटनापछि कैलालीमा कांग्रेसी नेता कार्यकर्ता र गोदावरी नगरपालिका एउटा निकृष्ट हर्कतमा उत्रिएका छन् ।

वन क्षेत्रमा बसेको भनेर भूमिहिनहरुको छाप्रोमा डोजर लगाउनेहरु अहिले आफैं वन क्षेत्रमै कांग्रेसको पार्टी कार्यालय बनाउन शिलान्यास गर्न पुगे । गरिबलाई लखटेर कांग्रेसको पार्टी कार्यालय बनाउन कुन नैतिकताले दियो ? भनेर टिभी जर्नलिष्ट खेम ढुंगानाले केही कांग्रेसी नेता र गोदावरी नगरपालिकाका प्रमुखलाई सोधेका छन् ।

कैलालीको गोदावरी नगरपालिका– ३ स्थित चौकीडाँडा महिला सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरामा सब डिभिजन वन कार्यालय अत्तरिया र गोदावरी नगरपालिकाको समन्वयमा सोमबार डोजर चल्योे ।

नगरपालिकाको डोजरले ४५० घर टहरा भत्काउँदा विचल्लीमा परेकाहरुको रोदन र क्रन्दनले अहिले सामाजिक सञ्जाल समेत छपक्कै छ ।

वन कार्यालयले केही दिन अघि अतिक्रमित बन क्षेत्र खाली गराउन माइकिङ गरेको थियो । वनको आग्रह अटेर भएको भन्दै सुकुम्बासीका टहरामा डोजर चलेपछि सयौं घर परिवारको विल्लिबाठ भयो ।

स–साना लालाबाला च्यापेर मानिसहरु रोइरहेको दृश्य देख्नेहरुको मन समेत अमिलो भयो । बाढी पीडित र सुकुमबासीको नाममा वन क्षेत्रमा बनाइएका घरटहरा भत्काउने अभियान गोदावरीमा चलिरहेको छ ।

यो अभियानले भूमिहिन, सुुकुम्बासीहरु प्रभावित भएका छन् । तर यही बेला सोही नगरपालिकाभित्रको वडा नं १ मा पर्ने सुरक्षा महिला सामुदायिक वनभित्र नेपाली कांग्रेसले भवन निर्माणको शिलान्यास गरेको छ ।

सामुदायीक वनभित्रै नेपाली कांग्रेस कैलाली क्षेत्रनं ४ को क्षेत्रीय पार्टी कार्यालय भवनको सिलन्यास प्रतिनिधी सभा सदस्य तथा काग्रेस सुदुरपश्चिम प्रदेश सभापती बिर बहादुर बलायरले गरेका हुन् ।

वन क्षेत्रभित्र नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयको सिलन्यास गर्दा स्थानियले चाहिँ विरोध जनाएका छन् । भूमिहिनलाई हटाएर कांग्रेसले आफ्नो भवन बनाउन लागेको भन्दै स्थानीयले विरोध गरेका हुन् । तर यो कामको गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टले चाहिँ बचाउ गरेका छन् ।

नगर प्रमुख भट्टले सिलन्यास भएको उक्त भवन पार्टीको कार्यालय नभइ, बीपी स्मृति भवनको लागि शिलान्यास गरिएको बताए ।

नगर प्रमुख भट्टले आफ्नो र पार्टीको बचाउ गर्दै शिलान्यास पार्टी कार्यालयका लागि होइन भनेका छन् । तर कांग्रेसका स्थानीय नेताहरुले शिलान्यास गरिएको पार्टी कार्यालय भवनकै लागि हो भनेर सामाजिक सञ्जालमा स्टाटस पोस्ट नै गरेका छन् ।

कांग्रेसका एक स्थानीय नेताले नगर प्रमुख वीरेन्द्र भट्टसमेतलाई ट्याग गरेर पोस्ट गरेको यो स्टाटस हेर्नुहोस् ।

यता वन कार्यालय अत्तरियाले भने वन क्षेत्र भित्र कुनैपनि भवन बन्न नसक्ने बताबउदै वन ऐन विपरित भवन बनाउन अनुमती दिने सम्बन्धित वन अध्यक्षलाई कारवाही गरिने बताएको छ ।

एउटै नगरपालिकाभित्र बाढी पीडित र सुकुमबासीको नाममा वन क्षेत्र कब्जा गर्दा डोजर चलाएको र पार्टीको नाममा भने वन क्षेत्रभित्रै पक्की भवन बनाउन दिएको भन्दै विरोध सुरु भएको छ ।

यस वनकी अध्यक्ष लक्ष्मी भण्डारी कांग्रेस निकट हुन । उनलाई हामीले सम्पर्क गर्दा उनलो आफू बाहिर रहेको जवाफ दिइन् ।

बाहिर जहाँ भए पनि तपाईको प्रतिक्रिया लिन आउँछौं भनेर हामीले प्रस्ताव गर्दा उनले कल काटेर मोबाइल स्वीच अफ गरिन् ।

कांग्रेसका नेताहरुले भने यस प्रकारको रिपोर्ट प्रशारण नगरेर सहयोग गर्न आग्रह गर्दै प्रतिक्रिया दिन चाहेनन् ।

https://www.youtube.com/watch?v=jel8pQ9bYwM

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *