
- सितल रिजाल
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी यतिबेला फरार छन् ।
आफु निर्दोष भएको भन्दै अनुसन्धानमा सघाउने बताएका टोपबहादुर एकाएक गायब हुनु आफैमा रहस्यपूर्ण छ । गृह जिल्ला अर्घाखाँचीबाट संघीय संसदका सभामुख देवराज घिमिरेसंगै काठ्माडौं हिडेका उनी बाटोबाटै हराउनुले कतै उनलाई उम्काउने खेल भइरहेको त छैन ? प्रश्न उब्जिएको छ ।
तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो प्रधानमन्त्री कालमा भ्रष्टाचारीको अनुहार समेत नहेर्ने संकल्प गरेका थिए ।
उनले भ्रष्टाचारका सन्दर्भमा आफुले गरेको प्रतिवद्धता शतप्रतिशत कार्यान्वयन भएको दावी आजपनि गर्ने गरेका छन् ।
तर, सरकारको नेतृत्वमा रहँदा भ्रष्टाचार विरुद्ध उनले दिएका अभिव्यक्ति जति लोकप्रिय छन् उनको व्यवहारले भने त्यो देखाउँदैन् । भ्रष्टाचारविरुद्ध खरो उत्रिने कमस खाएका ओलीका निरन्तरका गतिविधिले उनी भ्रष्टाचारका विरोधि नभई संरक्षक भएको आरोप उनिमाथि लाग्दै आएको छ ।
यतिबेला नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुरको नाम जोडिएपछि उनलाई बचाउन ओली सक्रिय देखिएको आरोप लाग्न थालेको छ ।
बिहीबार ओलीले बहालवाला सांसदलाई बाटैबाट समात्न खोज्नु रहस्यपूर्ण भएको भन्दै गृह प्रशासनको विरोध गरेका थिए । उनले दिएको यो अभिव्यक्तिले पनि टोपबहादुरलाई बचाउन ओली लागिरहेका छन् भन्ने बुझ्न कठिन छैन् ।
टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी भएको ४८ घण्टा भन्दा बढी भइसक्दा पनि उनी पक्राउ परेका छैनन् । पक्राउ पूर्जी जारी हुुँदा संघीय संसदका सभामुख देवराज घिमिरेसंगै गृह जिल्ला अर्घाखाँचीमा रहेका उनी यतिबेला प्रहरीको फरार सूचिमा छन् ।
नक्कली शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको भन्दै गिरफ्तारी दिएर प्रहरीलाई अनुसन्धानमा सघाउने वाचा सहित काठ्माडौ हिडेका टोपबहादुर बुटवलबाटै गायब भए ।
अर्घाखाँचीको सन्धिखर्कबाटसंगै हिडेका सभामुख घिमिरे काठ्माडौं आइपुग्दा एमाले सचिव टोपबहादुर कता गायब भए ?
यसबारेमा सभामुख घिमिरेलाई सोधपुछ किन नगर्ने ? सन्धिखर्कबाट बुटवल पुग्दासम्म प्रहरीकै घेरामा रहेका उनी एकाएक फरार हुनुको रहस्य के ?
कतै उनको गिरफ्तारिलाई राजनीतिक सौदाबाजीको हतियार त बनाइएन ? शरणार्थी प्रकरणमा रायमाझीको फरारलाई लिएर उठेका यी यावत प्रश्नहरु भने अनुत्तरीत नै छन् ।