टोपबहादुर र बादलविरुद्ध निर्मम प्रचण्ड !

टोपबहादुर र बादलविरुद्ध निर्मम प्रचण्ड !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध निर्मम ढंगले प्रस्तुत हुने दलील पेश गरेका छन् । माओवादीविरुद्ध विभिन्न आरोप लाग्ने गरेको बताएका प्रचण्डले पूर्वसहकर्मीमाथि समेत कटाक्ष गरेका छन् । नक्कली शरणार्थी प्रकरणलाई टुंगो लगाउने बताएका प्रचण्डले यसबाट आउन सक्ने हरेक चुनौति सामना गर्न तयार रहेको समेत बताएका छन् ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, माधव कुमार नेपालसहितका नेताहरु ‘हामी यहाँ छौं’ भन्दै माइतीघरको सडकमा धर्ना दिएका थिए ।

जतिबेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको खिसिट्युरीको पनि प्रधानमन्त्री प्रचण्डले यतिबेला स्मरण गरेका छन् ।

आफूलाई त्यसबेला प्रचण्डको हालत के भयो भन्दै खिसि गर्नेहरु नै अहिले नक्कली शरणार्थी बनाएर अमेरिका मान्छे बेच्ने पेशामा लागेको प्रचण्डको दाबी छ ।

सरकारले यतिबेला नक्कली शरणार्थी प्रकरणमा छानबिन थालेपछि प्रधानमन्त्री पप््रचण्डले कुनै पनि हालतमा कारबाही गरेरै छाड्ने स्पष्ट गरेका छन् ।

संविधानको रक्षाका लागि कुनै सम्झौता नगर्ने बताएका प्रचण्डले भ्रष्टाचारविरुद्धका फाइल खोल्ने र अहिले वाहिर आएका विषयवस्तु सामान्य ट्रेलर मात्रै भएको र फिल्म आउन बाँकी रहेको बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ मा दुई पटक प्रतिनिधिसभा विघटन गर्दा टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ’बादल’, गैरीशंकर चौधरीलगायत नेताहरू एकतापूर्वको पार्टी माओवादीमा नफर्किएर एमालेमै रहेका थिए ।

यसबेला यी नेताहरुले आफ्नोविरुद्धमा नानाथरी बोलेको भन्दै प्रचण्डले प्रतिक्रिया दिएका हुन् । यद्यपि प्रचण्डले माओवादी कमजोर भएको पनि स्वीकार गरेका छन् ।

अहिले माओवादीलाई ३२ सिटे नामाकरण गरेको भन्दै सबै सक्रियताका साथ काममा लाग्न निर्देशन समेत दिएका छन् ।

भ्रष्टाचार र सबैखाले अनियमितताको विपक्षमा उभिने बताएका प्रचण्डले विभिन्न धम्की, दबाब र अनेकखाले षडयन्त्र हुनसक्ने आशंका व्यक्त गरेका छन् । तर, यसलाई दृढतापूर्वक कार्यान्वयनमा लैजाने बताएका प्रचण्डले जनतामा देखिएको आक्रोशको सम्बोधन गर्लान् ?

कुनैबेला नेपाललाई स्विटहरल्याण्ड बनाउने घोषणा गरेका प्रचण्ड यसपटक पनि बोल्ने काम मात्रै गर्लान् ? प्रचण्ड र माओवादीको परीक्षा शुरु भएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *