
काठमाडौं । नेकपा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणपछि फरार छन् । फरार रहेका उनको घरमा प्रहरीलेसमेत छापा मारेको छ । टोपबहादुर भारत पुगेकोदेखि बालकोटको संरक्षणमा रहेकोजस्ता विभिन्न अड्कलबाजी भइरहेका छन् । तर, के टोपबहादुरले भागेर आफूमाथि लागेको आरोपबाट उन्मुक्ति पाउन सक्छन् त ?
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेको आरोपमा प्रहरीले एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी ग¥यो । पक्राउ पुर्जी जारी हुँदा उनी गृहजिल्लाको एक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथि थिए ।
उनीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा प्रहरीको सुरक्षा घेरामै थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगै रहेका टोपबहादुर रुपन्देहीको भैरहवासम्मसँगै आए । तर, विमानस्थलबाटै पक्राउ पर्ने डरका कारण उनी त्यहिँबाट फरार हुन पुगे । आफूमाथि लागेको आरोप अस्वीकार गरेका रायमाझीले अर्घाखाँचीमै हुँदा अनुसन्धानलाई सघाउने दाबी गरेका थिए ।
टोपबहादुरलाई पक्राउ गर्ने सुचना पाएपछि एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरे । त्यसपछि ओलीले सभामुख र पार्टीको जिम्मेवार व्यक्ति नभाग्ने भन्दै टोपबहादुरमाथि सदासयता प्रकट गरे ।
ओलीको यस्तो दाबी लगायतका विषय सार्वजनिक हुनुअघि नै प्रहरी प्रमुखलाई सम्पर्क गर्दै आफै प्रहरी कहाँ आउने बताएका टोपबहादुर मोबाइल स्वीच अफ गरेर फरार छन् । प्रहरीले टोपबहादुरलाई खोज्न अनुसन्धान ब्यूरोलाई समेत परिचालन गरेको छ । नक्कली शरणार्थी प्रकरणको मुद्दा अदालतमा लैजाने समय १५ दिन बाँकी रहेको बुझेका टोपबहादुरले एकै पटक अदालतमा उपस्थित हुने तयारी गरेका पनि हुन सक्छन् ।
प्रहरी हिरासतमा बस्न नचाहेकाले उनी फरार रहेको विषय उठाउन थालिएको छ । तर, टोपबहादुर यसरी फरार रहेपछि अपराध स्वीकार गरेको मान्नुपर्ने कतिपयले तर्क गर्न थालेका छन् । १० वर्ष तत्कालीन माओवादीले थालेको सशस्त्र युद्धमा समेत सरिक भएका टोपबहादुर यसरी फरार होलान् भन्ने सायदै कमैले सोचेका थिए ।
फरार रहेका टोपबहादुरबारे अहिले विभिन्न टिप्पणी हुन थालेका छन् । कतिपयले उनलाई भारत पुगेको दाबी गरिरहेका छन् भने कतिपयले शीर्ष नेताको घरमै बसेर घटना नियालीरहेको दाबी गरिरहेका छन् । प्रहरीले नै भेट्न नसक्ने गरि भागेका टोपबहादुरलाई एमालेले कस्तो व्यवहार गर्ला ? अनुसन्धान नसकिएसम्मका लागि उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएला ? यस्ता प्रश्न अब एमाले नेतृत्वमा तेर्सिन पुगेको छ । एमाले सचिवालय बैठकले सचिव टोपबहादुरले अनुसन्धानलाई सघाउनुपर्ने निर्णय गरेपनि तत्काल कारबाही भने नगरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए ।
सरकारले टोपबहादुरलाई पक्राउ गर्न सक्ने वातावरण हुँदाहुँदै किन पक्राउ गरेन भन्ने प्रश्नसमेत उत्तिकै जोडबलले उठ्न पुगेको छ । यस्तो अवस्थामा टोपबहादुर कहिलेसम्म फरार होलान् ? वा फरार टोपबहादुरले अनुसन्धानलाई सघाउनुको साटो भागेर उन्मुक्ति पाउलान् ? नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई सरकारले के गर्ला जनताले चासोका साथ हेरिरहेका छन् ।