
- सुजन चालिस
काठमाडौं । नक्कली शरणार्थी प्रकरण विकाश हुँदै जाँदा यसले प्रचण्ड नेतृत्वको सरकारनै संकटमा पर्ने खतरा बढाएको छ । शरणार्थी प्रकरणमा प्रधानमन्त्री निर्मम देखिँदा यसको प्रत्यक्ष नोक्सानीमा कांग्रेस र एमाले परेका छन् ।
संसदको गणितिय अवस्था हेर्दा देउवा–ओलीको इशारामा कुनैपनि बेला वर्तमान सरकार अप्ठेरोमा पर्नेछ । जसको खतरा माओवादी पंक्तीले महशुस गरिसकेको छ ।
नक्कली शरणार्थी प्रकरणमा सरकारले एकपछि अर्को भिआईपी पक्राउ गरिरहेको छ । वुधबार नेपाली कांग्रेसका नेता, पुर्व गृहमन्त्री बालकृष्ण खाँड र उनका स्वकिय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् ।
आफ्नो निकटस्त विश्वासपात्र खाँड पक्राउ पर्दा कांग्रेस सभापति देउवा तरंगित बनिसकेका छन् । अझ बालकृष्ण पत्नी मञ्जु खाँड र देउवा पत्नी आरजु राणालाई पक्राउ गर्न प्रहरीले प्रमाण संकलन गरिरहेको छ ।
हालसम्म फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई पक्रन प्रहरी प्रयासरत छ । चौतर्फी दवाव पछि नेकपा एमालेले रायमाझीलाई पार्टी सचिवबाट निलम्बन गरिसकेको छ ।
पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र उनका पुत्र प्रतिक थापा विरुद्द पनि प्रहरी निर्मम हुने संकेत देखिइसकेको छ । यो प्रकरणमा हालसम्म माओवादी नेताहरुको संलग्नता भने देखिएको छैन ।
यसको ठुलो नोक्सानी केवल कांग्रेस र एमालेले बेहोर्नुपरेको छ । यो प्रकरणमा गृहमन्त्रीले रोकिने छाँटकाँट देखाएका छैनन् ।
सरकारको पछिल्लो अडानले खासगरी ओली र देउवामा सन्नाटा छाएको छ । आपसी समझदारीमा थामथुम पार्ने प्रयास स्वरुप शीर्ष नेताहरुबिच भेटघाट पनि बाक्लिएको छ ।
ओलीले प्रधानमन्त्रीसँग पटक पटक एकल वार्ता गरिसकेका छन् भने मंगलबार र बुधवार गृहमन्त्री सहित शिर्ष नेतात्रयको बैठक बस्यो । यसले परिस्थिति जटिल बन्दै सरकारमा समेत प्रभाव पर्ने संकेत देखिन्छ । ओली–देउवा चिढाएर प्रचण्ड लामो समय सरकारमा रहन सक्लान त ?
३२ सिटे प्रधानमन्त्री प्रचण्डलाई ओली–देउवा दाहिना नबने तत्काल सरकार छाड्नुपर्ने अवस्था बन्नेछ । रास्वपा बाहिरिएपछि कमजोर बनेको सरकारको अंकगणितमा प्रधानमन्त्री प्रचण्ड सामु २ विकल्प छन्, ओली देउवासँग सम्झौता गरेर यो प्रकरणमा ब्रेक लिने वा सरकार गुमाउनुपर्ने सम्भावित परिस्थितीको सामना गर्ने ।
यो प्रकरणमा कसैको दवावमा परेर खुट्टा नकमाउने प्रधानमन्त्रीले बताईसकेका छन् । यस्तोमा माओवादी पंक्तिले सरकारमा खतराको संकेत महशुस गरिसकेको छ ।
पुस १० को समिकरण भत्काएर नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा कायम रहेका प्रचण्डसँग एमालेको पुरानै हिसाब किताब बाँकी छ ।
प्रचण्ड सरकार भत्काउन रास्वपा सभापति रवि लामिछाने लाई समेत प्रधानमन्त्री बनाउने प्रस्ताव एमालेले गरिसकेको छ ।
आफ्नो आशिर्वादमा प्रधानमन्त्री बनेका प्रचण्ड, आफैँ विरुद्द निर्मम देखिँदा देउवाको मगज स्वत गर्माएको छ । यो प्रकरणले ओली–देउवालाई एक ठाउँमा उभ्याउँदा कुनैपनि समय प्रचण्ड सरकारको आयु सक्किने सम्भावना बढेको देखिन्छ ।