
काठमाडौं । मुलुकको अर्थतन्त्र समस्या र चुनौतिकाबीच पनि आर्थिक परिसूचकहरु सकारात्मक देखिएका छन् ।
बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको नौ महिनामा प्रायः सबै सूचकहरु सकारात्मक देखिएका हुन् ।
पछिल्लो समय मुलुकको अर्थतन्त्र संकुचनमा गएर मन्दितर्फ उन्मुख हुन लागेको विश्लेषण हुन थालेको छ ।
यता, राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको मुलुकको आर्थिक वृद्धिदरको प्रक्षेपण २.१६ प्रतिशतमा सिमित हुने देखिएको छ । तर सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य लिएको थियो ।
सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पछिल्लो समय उद्योग, निर्माण र व्यापार क्षेत्रमा देखिएको संकुचनले अर्थतन्त्र ऋणात्मक हुने अवस्था आएको देखिएको छ । यद्यपि, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वित्तिय परिसूचकहरु सकारात्मक रहेका छन् ।
राष्ट्र बैंकको तथ्याङ्कले मुलुकको अर्थतन्त्रमा नीतिगत व्यवस्था स्थिर र क्षेत्रगत सबलिकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
चालु आर्थिक वर्षको सुरुवातमा वाह्य क्षेत्र,रेमिट्यान्समा समेत नकारात्मक भएपनि चालु आर्थिक वर्ष नौ महिनामा अर्थतन्त्रको वाह्य क्षेत्र निरन्तर रुपमा सुधार हुँदै गएको छ ।
त्यस्तै, चालु आर्थिक वर्ष २०७९\८० को नौ महिनामा ९ खर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) नेपालमा भित्रिएको छ । त्यस्तै, चालु आर्थिक वर्षको चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । यो गत वर्षको चैतको तुलनामा ०.३९ प्रतिशत बिन्दु बढी हो ।
त्यस्तै, चालु आर्थिक वर्षको ९ महिनासम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ ।
यो अवधिमा पुँजीगत ट्रान्सफर २४ प्रतिशतले कमी आएको छ । यस्तै, प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ७८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ५१ करोड रहेको थियो ।
त्यस्तै, चालू आर्थिक वर्षको नौ महिनामा आयात र निर्यात दुवै चैतमा पनि घटेको छ । आयात र निर्यात दुवै घटेपनि रेमिट्यान्सका कारण नेपालको वित्तीय क्षेत्रमा निक्षेपको वृद्धिदर बढेको छ ।
चैतमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ । उता निक्षेप वृद्धि बढेपनि निजी क्षेत्रमा प्रवाहित कर्जाको बिस्तार भने खुम्चिएको छ ।
त्यस्तै,चैत मसान्तमा २ हजार ४ सय १५.२५ रहेको नेप्से सूचाङ्क २०७९ चैत मसान्तमा १ हजार ९ सय ३४.४८ कायम भएको छ ।