दीपक मनाङेको मन्त्री बन्ने अस्त्र असफल, अबको राजनीति कसरी अगाडि बढ्ला ?

दीपक मनाङेको मन्त्री बन्ने अस्त्र असफल, अबको राजनीति कसरी अगाडि बढ्ला ?

काठमाडौं । राजीव गुरुङ गण्डकी प्रदेशको राजनीतिक खेलाडी हुन् । कुनै बेला गुण्डा नाइके भनेर चिनिने मनाङेले प्रदेश सभा निर्वाचनमा चुनाव जितेरै मन्त्रीमा ह्याट्रिक गरेका छन् । तत्कालिन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको बलियो सरकार ढाल्न यिनै मनाङे निर्णायक बनेका थिए । २०७९ को चुनावमा पनि निर्विरोध निर्वाचित भएका मनाङेको एकीकृत समाजवादी प्रवेश गरी मन्त्री बन्ने रणनीति तुहिएको छ ।

राजीव गुरुङ उर्फ दीपक मनाङे २०७४ को प्रदेशसभा निर्वाचनमा मनाङ निर्वाचन ‘ख’बाट निर्वाचित भएका थिए । गुण्डागर्दी पृष्ठभूमीका उनी पहिलो प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई सांसद निर्वाचित भए । मनाङेले कांग्रेसका कर्मा गुरुङलाई पराजित गरेका थिए । कुटपिट र ज्यान मार्ने उद्योगका मनाङे पटक पटक प्रहरी खोरमा पुगेका छन् ।

पहिलो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएपछि पनि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाकै कारण उनले सांसद पदको सपथ लिन पाएनन् । चुनाव जितेपछि पनि उनी थुनामै थिए । ८ महिनापछि जेलमुक्त भई सपथ लिन खोजे पनि सपथ लिन पाएनन् । चुनाव जितेर आएपछि पनि आफ्नो अपराधलाई उनले क्षम्य गर्न नपाएपछि उनी पार्टी प्रवेशको रणनीति लिए । २०७६ असार १९ गते उनी तत्कालिन नेकपा प्रवेश गरे ।

पार्टी प्रवेश गरेपछि प्रदेशससभा दुई तिहाई देखाउनकै लागि नेकपाले मनाङेलाई सपथको वातावरण मिलाइदियो । नेकपा विभाजन भएपछि केन्द्रदेखि प्रदेशसम्म नै सत्ता ढलाउने खेल हुँदा उनी गण्डकी प्रदेशमा निर्णायक बने । जसका कारण तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई खेलकुदमन्त्री बनाइ दिए ।

मनाङेले गुरुङलाई विश्वासको मत लिने बेलामा साथ दिएनन् । फलस्वरुप गुरुङ नेतृत्वको सरकार ढल्यो । त्यसपछि कांग्रेस नेतृत्वको सरकारमा पनि मनाङेले खेलकुद मन्त्री हात पारे । सरकार बनाउने र भत्काउने खेलमा निर्णायक हुँदा मन्त्री बन्ने अवसर पाएका मनाङे २०७९ मंसिरको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ सोही क्षेत्रबाट निर्विरोध निर्वाचित भए । दोर्जे लामा गुरुङको उम्मेदवारी फिर्ता गर्न लगाएर निर्विरोध निर्वाचित भएका थिए । गण्डकी प्रदेशमा निल रहेको एकीकृत समाजवादीमा प्रवेश गरेर मनाङेले फेरि पनि मन्त्री हात पार्ने योजना बनाए ।

एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनेपछि मन्त्रीको लिष्टमा परेका उनी शुक्रबार मुख्यमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद्लाई पूर्णता दिँदा अन्तिम समयमा बाहिरिनु परेको छ । समाजवादीमा प्रवेश गरेर पनि मन्त्री बन्न नपाएकोमा मनाङ्ेको राजनीति अब कसरी अगाडि बढ्छ, हेर्न बाँकी छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *