
- सुजन चालिस
काठमाडौं । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पार्टीभित्र विद्रोह गर्ने चेतावनी दिदै आएका महामन्त्रीद्वयको मनोबल थप चुलिएको छ ।
खाँणको पक्राउपछि उनलाई तत्काल निलम्बन गर्न महामन्त्रीद्वय लगाएतका नेताहरुले सभापति शेरबहादुर देउवालाई चर्को दवाव दिएका छन् ।
खाँणको पक्राउ र पार्टीका शीर्ष नेताहरुको नाम मुछिएपछि एकलौटी अघि बढेका देउवालाई गलाउने रणनीतिमा जुटेका इतर पक्षहरुले यहि विषयलाई मुद्दा नै बनाउन खोजेका छन् ।
नेपाली कांग्रेसमा बालकृष्ण खाँण पक्राउ प्रकरणले बबण्डर निम्त्याएको छ । खाँण पक्राउ परेपछि आत्तिएको कांग्रेस नेतृत्वले त्यसयता २ पटक पदाधिकारी तहको बैठक राखिसकेको छ ।
दुवै बैठकमा खाँणलाई पार्टी जिम्मेवारीबाट निलम्बन गर्ने या नगर्ने विषयमा चर्काचर्की भएको बताइन्छ । सोहि प्रकृतिको घटनामा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारीबाट निलम्बन गरिसकेको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य अडियो प्रकरणमै आफ्ना सांसदलाई निलम्बन गरेको थियो । यसले पनि कांग्रेस पंक्तिमा दवाव सिर्जना गरेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगाएतका नेताहरु भने खाँणप्रति पार्टीले निर्मम निर्णय गर्नुपर्ने पक्षमा छन् । तर सभापति देउवा उनलाई तत्काल जिम्मेवारीबाट निलम्बन गर्ने पक्षमा देखिएका छैनन ।
कांग्रेसमा कार्यशैली चित्त नबुझेको भन्दै संस्थापन इतर पक्ष चिढिएको छ । केहि दिनदेखि कांग्रेस महामन्त्रीद्वयले अब सहेर बस्न नसकिने चेतावनी दिदै आएका छन् ।
खाँण पक्राउ परेको परिवेशमा सभापति देउवामाथि सशक्त दवाव दिने रणनीतिमा उनीहरु छन् । खाँण पक्राउ परेलगत्तै संस्थापन इतरपक्षको एक पंक्तिले गृहमन्त्रीलाई भेटेरै धन्यवाद दिएर ढाडस दिएको छ ।
प्रतिरोधमा उत्रने महामन्त्रीद्वयको कदमको सुरुवात खाँणमाथि पार्टी कारवाहीको डण्डा थमाएर गर्न खोजेको जस्तो देखिन्छ । तर, कांग्रेस सुधारको बाटोमा महामन्त्रीको चेतावनीलाई यसअघिझैँ देउवाले बेवास्ता गरिदिएका छन् ।
पार्टी बैठकमा जसरी छलफल भएपनि निर्णय देउवाकै इशारामा भएको छ । पार्टीमा बहुमतको आड पाएका देउवालाई सुधारको हावा समेत लागेको छैन ।
एकलौटी अगि बढेको आरोप खेप्दै आएका देउवालाई गलाउनकै लागि भएपनि नक्कली शरणार्थी प्रकरणलाई उछाल्ने मनशायमा देखिन्छ । तर, पार्टीको आन्तरिक विवाद सुल्झाउन गम्भीर आरोपलाई हतियार बनाउन खोज्नु कत्तिको राजनीतिक होला ? त्यो भने प्रश्नको विषय हो ।