प्रहरीको अकाट्य प्रमाणबाट उम्किन सकेनन् रेशम, यसरी पुष्टि भयो घटनाको बेला उनी त्यहीँ थिए (भिडियो)

प्रहरीको अकाट्य प्रमाणबाट उम्किन सकेनन् रेशम, यसरी पुष्टि भयो घटनाको बेला उनी त्यहीँ थिए (भिडियो)

काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीको जन्मकैदको सजाय सर्वोच्च अदालतले पनि सदर गरेको छ ।

टिकापुर नरसंहारका मुख्य योजनाकार रेशम निर्दोश छन् भन्ने दावी नेपालका राजनीतिक दलका नेताहरुले बारम्बार दोहोर्याउँदै आएका थिए ।

उनीविरुद्धको मुद्दा फिर्ता लिन सरकारले ऐन संशोधन गर्न विधेयक पनि दर्ता गरेको थियो । तर अब रेशमको मुद्दा नै छैन ।

मुद्दा नभएपछि सायद अब फिर्ता पनि हुनेछैन । नरसंहारका योजनाकार अहिले डिल्लीबजार कारागारमा छन् ।

राजनीतिक स्वार्थ पूरा गर्ने क्रममा नेपालका मन्त्री प्रधानमन्त्रीहरु नै जघन्य अपराधीलाई जेलमै पुगेर भेट्ने गर्थे । तर अब रेशमलाई निर्दोश भन्नेहरु, उनलाई फसाइएको दावी गर्नेहरुको किस्सा समाप्त भएको छ ।

यसै पनि निर्दोश प्रमाणित नहुँदासम्म उनी दोषी नै थिए । सर्वोच्चको सदर पछि यो मुद्दाले अन्तिम किनारा पनि पाएको छ ।

आखिर रेशमविरुद्ध प्रहरीले त्यस्तो के प्रमाण जुटाएको थियो र नेपालका तीन तहका अदालत उनलाई निर्दोश मान्न तयार भएनन् ?

टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशमलला चौधरीको जन्मकैद सजाय सर्वोचच अदालतले पनि सदर गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश द्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले रेशमका सम्बन्धमा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई निरन्तरता दिने निर्णय गरेको हो ।

सर्वोच्चको यो फैसलासँगै टिकापुर हत्याकाण्डको अन्तिम किनारा लागेको छ ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले भने सर्वोच्चबाट सफाइ पार्एका छन् । लक्ष्मण थारुको हकमा जिल्ला अदालत कैलालीले तीन वर्ष कैदको सजाय सुनाएको थियो ।

सो फैसलालाई उच्चले पाँच वर्ष पु¥याएको थियो भने अहिले सर्वोच्चले जिल्लाकै फैसलाबमोजिम लक्ष्मणका लागि तीन वर्ष कैद कायम गरिदिएको छ ।

७२ साल भदौ ७ गते थरुहट आन्दोलन हिंसात्मक बनेपछि नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए ।

उक्त घटनामा ११ जनालाई दोषी ठहर गर्दै ७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

त्यसको दुई वर्षपछि ७७ पुस ३ मा उच्च अदालत दिपायलले रशेम सहित ८ जनालाई जन्मकैद सुनाएको थियो ।

रेशम चौधरी मुख्य योजनाकार भएको अकाट्य प्रमाण

नेपालका राजनीतिक दल र तिनका नेताहरुले रेशमका सम्बन्धमा राजनीतिक स्वार्थ प्रेरित अभिव्यक्ति दिँदै आएका छन् । तर अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेका केही अकाट्य प्रमाणले रेशम नै मुख्य दोषी रहेको प्रमाणित गरिरहेको थियो ।

हत्याकाण्डका सम्बन्धमा प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदनको यो अंशको कालो पृष्ठभूमिमा अंकित मोबाइल नम्बर ९८५११२८७३६ रेशम चौधरीको हो ।

जुन समयमा प्रहरीहरुको हत्या भइरहेको थियो, त्यो बेला रेशम को– को व्यक्तिसँग सम्पर्कमा थिए भन्ने यो कल डिटेल्सले पुष्टि गरेको थियो ।

नेपाल टेलिकमले टिकापुर क्षेत्रमा राखेका विभिन्न टावरसँग सम्पर्क भएको कल डिटेल्समा स्पष्ट उल्लेख छ ।

कालो पृष्ठभूमिमा रहेको मोबाइल नम्बरले अन्य मोबाइल नम्बरसँग गरेको सम्पर्कले घटनासँग रेशमको प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि गर्छ ।

अर्को यो कल डिटेल रेकर्ड विश्लेषण लेखिएको यो अनुसन्धान विवरणले पनि उनलाई छुटकारा दिने स्थान दिएन ।

यो पन्नाको सबैभन्दा अन्तिमका दुई हरफमा लेखिएको छ – प्रतिवादी रेशमलाल चौधरी प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने सहितको प्रहरी टोलीमाथि घरेलु हतियार प्रहार हुँदा बारदाता स्थानमा रहेका केवालाल चौधरी समेतका व्यक्तिहरुसँग सम्पर्कमा रहँदै आएको यी प्रतिवादको सिडीआर डाटाबाट देखिन आएको, उक्त वारदाता समयमा प्रतिवादीको मोबाइलको लोकेसन वारदात स्थान नजिक रहेको दुर्गौली समेत नेपाल टेलिकमको टावरसँग आवद्ध रहेको देखिदाँ प्रतिवादी घटनास्थल वरपर रहेको पुष्टि हुन आउँछ ।

नरसंहारमा जो जो व्यक्ति प्रत्यक्ष संलग्न थिए, ती व्यक्तिहरुसँग रेशम छिनछिनको अपडेट लिइरहेका थिए भन्ने बिटिएस विश्लेषणले देखाएको तथ्य प्रहरीको अनुसन्धानमा राखिएको थियो ।

बिटिएस विश्लेषणका रुपमा प्रहरीले राखेको यी चार बुँदा हेर्नुहोस् । यी चार बुँदामा दिउँसो १ सोह्र बजे, एक ३२ बजे, एक ३५ बजे र २ बजेर ४ मिनेटमा रशेम को को व्यक्तिसँग सम्पर्कमा थिए भन्ने प्रष्ट पारेको छ ।

प्रत्यक्षदर्शी नाबालिगः जसको बयानले रेशम घटनास्थलमा रहेको पुष्टि गर्यो

टीकापुर नरसंहारका क्रममा प्रहरीसँग धेरैले बयान दिएका थिए । तर अधिकांशले अदालतसम्म पुग्दा बयान फेरे । तर १४ वर्षका करन चौधरी नामक बालकले जे देखे, त्यो अदालतमा पनि दोहोर्याए । उनकै बयानलाई रेशमविरुद्धको बलियो प्रमाणका रुपमा मानियो ।

नरसंहारमा संलग्न तथा प्रत्यक्षदर्शी करणले अदालतमा गरेको बयान यस्तो छः

‘ मैले मौकामा अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा लेखाएको व्यहोरा र सहिछाप मेरो नै हो । वारदाता घटनास्थलबाट बरामद भएका समान मध्ये सो दिन बञ्चरो र चक्कु प्रतिवादी प्रदीप चौधरीको हातमा थियो । तरबार टिक्लीगढका मान्छेहरुको हातमा देखेको हुँ । अन्य सामानहरु को कस्को हातमा थिए मलाईथाहा भएन । प्रतिवादी सुन्दरलाल कठरिया बाहेको नाम थाहा छैन निजको ठेगाना थाहा भएन । निजलाई मैले घटना स्थलमा देखेको हुँ । तर निजको कुनै हात हतियार देखेको थिएन । निजको हातमा प्लेकार्ड देखेको थिएँ । साथै निजले कोही कसैलाई कुटपिट गरेको देखेको पनि थिइनँ । प्रतिवादी प्रदीप चौधरीले प्रहरीको हातबाट हतियार खोसी श्रवण चौधरीलाई दिई श्रवण चौधरीले हतियार लगी गएको देखेको हुँ । तिनीहरुको नाम थाहा छैन । वारदात घटना भइ प्रहरीलाई मापरे पश्चात मलाई रेशमलाल चौधरी र नाम थाहा नभएका व्यक्तिहरुले काँधमा राख्दै बधाई छ भाई भनी भनेका थिए ।काडेतार बेरिएको लाठी उक्त वारदातका समयमा प्रतिवादी श्रवण चौधरीले हातमा लिए एसएसपीलाई हिकाएको हो । उक्त लाठी हाल प्रहरीले बरामद समेत गरि ल्याएको मध्येकै हो । हाल फरार रहेका प्रतिवादीहरु मध्ये टिकापुर ९ बस्ने फुलराम चौधरीलाई चिन्दछु । उक्त दिन जिनको हातमा प्लेकार्ड थियो । अन्य फरार प्रतिवादीहरुलाई चिन्दिन । वारदातको समयमा प्रहरी निरीक्षक समेतका चार जना व्यक्ति सुरक्षाकर्मीलाई प्रतिवादी प्रदीप चौधरीसमेतले भाग्दै गर्दा पछाडिबाट बन्चरोले हानी ढालेका हुन् । अन्य व्यक्तिहरुलाई म चिन्दिनँ । मैले नचिनेका व्यक्तिहरुले सुरक्षाकर्मीहरुलाई आगो समेत लगाएको देखेको हुँ । सो मध्येका प्रतिवादी राजराम चौधरीले पेट्रोल खन्याएका हुन् । घटनापूर्व चिलिमे चौराहको गोल्डेन स्कुलमा मिटिङ भएको थियो । त्यहाँ के कुन योजना भयो मलाई थाहा भएन । उक्त घटनामा मैले एक जना व्यक्लिाई लाठीले कुटपिट गरेको हुँ । निज हाल ज्यूँदै छन् । प्रहरीबाट हात हतियार प्रतिवादी रेशमलाल चौधरी, श्रवण चौरी र प्रदीप चौधरीले लुटि लगेका हुन् ।प्रतिवादी लाहुराम चौधरी र लक्ष्मण चौरीलाई मैले घटनास्लथमा देखेको थिएन । निजहरुको घटनामा कुनै संलग्नता छैन । वारदातको दिन प्रतिवादी रेशमलाल चौधरीको हातमा लाठी थियो । सोही लाठीले सुरक्षाकर्मीलाई हिर्काएका हुन् ।’

विचाराधीन मुद्दा फिर्ता लिन सरकारले गर्दैछ ऐन संशोधन

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० संसद सचिवालयमा दर्ता गरेको छ ।

यो संशोधन विधेयकमा उल्लेख भएअनुसार कानुन संशोधन हुँदा सरकारले जघन्य अपराधलाई पनि राजनीतिक मुद्दा बनाएर फिर्ता लिन सक्नेछ । तर मुद्दा फिर्ता लिने अवस्था अव रेशम चौधरीको हकमा लागू हुनेछैन ।

वरिष्ठ अधिवक्ता वालकृष्ण न्यौपानेका अनुसार मुद्दा टुंगिसकेपछि मुद्दा बाँकी रहँदैन । मुद्दा नै अदालतमा नरहेपछि फिर्ता लिने कुरा पनि हुँदैन ।

रेशमलाई रिहा गर्न अब राष्ट्रपतिबाट माफीबाहेक अर्को विकल्प रहने छैन ।

नियन्त्रणमा लिएर गरिएको हत्या, क्रुर तथा अमानवीय ढंगबाट गरिएको हत्याका अपराधीको सजाय पनि राष्ट्रपतिबाट माफी हुन सक्दैन ।

टिकापुर हत्याकाण्डमा मारिएका प्रहरीहरुको हत्या क्रुर, नियन्त्रणमा लिएर गरिएको हो वा होइन भन्ने कुराको ब्याख्या पछि मात्रै आम माफीको विषय तय हुनेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *