मन्त्री ‘डमी’ मात्रै, देश चलाउने अदृष्य शक्ति को ?

मन्त्री ‘डमी’ मात्रै, देश चलाउने अदृष्य शक्ति को ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु नै यतिबेला देश बाह्य शक्तिले चलाएको सार्वजनिक अभिब्यक्ति दिन थालेका छन् ।

डेढ महिनाअघि माओवादी उपाध्यक्ष एवम् पार्टी प्रवक्ता कृष्णबहादुर महराले देश अदृष्य शक्तिले चलाएको सार्वजनिक अभिब्यक्ति दिएका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका माओवादी नेता सुदन किराँतीले मंगलबार संसदीय समितिको बैठकमा सरकार मात्रै होइन, सदनसमेत अरुले नै चलाएको भन्दै सनसनी फैलाएका छन् ।

सशस्त्र संघर्ष हुँदै शान्ति प्रक्रियामा आएको माओवादी कुनै बेला सबैभन्दा बढी राष्ट्रवादी देखिन्थ्यो ।

तत्कालीन माओवादी युद्धका कमाण्डर एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विदेशी शक्ति केन्द्रविरुद्ध पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षित गरिरहन्थे ।

पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा भारतीय पूजारी नै नराख्नेसम्मको निर्णयमा पुगेका थिए ।

पार्टी प्रशिक्षण होस् वा सभा सम्मेलनमा माओवादी नेताहरु बारम्बार आफूहरुलाई विदेशी हस्तक्षेप स्वीकार्य नहुने अभिब्यक्ति दिँदै आएका थिए ।

त्यस्तो क्रान्तिकारी अभिब्यक्ति शान्ति प्रक्रियामा आएपछि पनि कायमै थियो ।

माओवादी शान्ति प्रक्रियामा आएपछि तत्कालिन युद्ध कमाण्डर प्रचण्ड तीन तीन पटक प्रधानमन्त्री भइसके ।

तीन तीन पटक प्रधानमन्त्री भएका प्रचण्डसमेत बाह्य शक्तिबाट सञ्चालित भएको माओवादी नेताहरुले अभिब्यक्ति दिइरहेका छन् ।

गत चैत १८ गते पार्टी सम्वद्ध पत्रकारहरुको संस्था प्रेस सेन्टर नवलपुरको साधारणसभामा बोल्दै माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पार्टी प्रवक्ता कृष्णबहादुर महराले देश अदृष्य शक्तिले चलाएको अभिब्यक्ति दिएका थिए ।

देश आफूहरुले चलाउन पाउनुपर्ने पक्षमा प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरु रहे पनि देश अरुले नै चलाएको महराको दाबी थियो ।

महराले प्रधानमन्त्रीसमेत रहेका आफ्नै पार्टीका अध्यक्षसमेत बाह्य शक्तिकेन्द्रबाट चलेको दाबी गरेपछि पार्टीभित्र यो विषय खासै चर्चामा आएन ।

मंगलबार माओवादीकै अर्का नेता संस्कृति पर्यटन तथा नागरिक उड्डेयनमन्त्री सुदन किराँतीले पनि आफूहरु अरुबाटै सञ्चालिन भएको स्वीकार गरे ।

संसदीय समितिको बैठकमा उनले सरकार मात्र होइन, संसदसमेत अरुले चलाउने गरेको र आफूहरु डमी मात्रै भएको बताए ।

मन्त्री त डमी मात्रै रहेको र अरुले नै चलाउने शोकेसको मान्छे भएको भन्दै उनले यसैकारण ऐनहरुसमेत पास हुन नसकेको ‘जिकिर गरे ।

सत्ता र शक्तिमा रहेका माओवादीका जिम्मेवार नेताहरुले नै देश अलौकिक शक्ति केन्द्रबाट सञ्चालित भएको बताइरहँदा ती अदृष्य शक्तिहरु को हुन् र उनीहरु विरुद्ध लड्न आम नागरिकलाई अपिल गर्न भने किन सक्दैनन् गम्भीर प्रश्न चिन्ह खडा भएको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *