
काठमाडौं । नक्कली शरणार्थी प्रकरणबारे प्रहरीले मुद्दा दर्ताकालागि सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गर्ने तयारी गरिरहँदा यसबारे विभिन्न चर्चाहरु चुलिँदै गएका छन् ।
राजनीतिक पहुँचको आडमा नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँदै करोडौं ठगी गरेको अभियोगमा पूर्व उपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म थुनामा छन् । यो विषयमा अमेरिकी चासो पनि उच्च छ ।
अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुले चासोका साथ हेरेको यस प्रकरणबारे दिनहुँजसो राजनीतिज्ञहरुले अफ्नो मत राखिरहेका छन् ।
राज्यको नै बदनाम हुने गरि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउँदै करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा शीर्षस्थहरु नै तानिएपछि यो विषय हटकेककै रुपमा छ ।
प्रहरीले थुनामा रहेकाविरुद्ध मुद्दा दर्ताकालागि फाइल तयार गर्दै गर्दा यसको सत्यता जाँच हुनै पर्ने माग जोडतोडका साथ उठिरहेका छन् ।
यसैक्रममा बुधबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निस्कर्षमा पु¥याउने प्रतिवद्धता जनाएका छन् ।
बुधवार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताहरुले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाए ।
नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नेकुरा संगठित अपराध भएको उनले बताए ।
कुनैपनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने उनको भनाई छ ।
यता, नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नक्कली भूटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको भन्दै सत्य छानविनमा चुक्न नहुने बताएका छन् ।
नेपाली कांग्रेसकै महामन्त्री गगनकुमार थापाले समेत नक्कली भूटानी शरणार्थी प्रकरणमा मुसिएका जो कोहीलाई पनि कारबाही गर्नबाट पछि हट्नु नहुने बताएका छन् । उनले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको अपराध भएकाले यसमा कुनै सम्झौता गर्नै नहुने बताए ।
उनले पार्टीका केही नेताहरु भ्रष्टाचारी भएपनि पार्टी नै भ्रष्टाचारी हो भन्न नमिल्ने तर्क समेत गरेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेका समय राजनीतिक वृतबाट मात्रै होइन जनस्तरबाट समेत दिनहुँजसो खबरदारी कार्यक्रम हुँदै आएका छन् ।