शरणार्थी प्रकरणको जस लिन दलहरुको होडबाजी

शरणार्थी प्रकरणको जस लिन दलहरुको होडबाजी

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणबारे प्रहरी अनुसन्धान शुरु भएको दुई महिना हुन लागेको छ । अनुसन्धानका क्रममा पूर्व उपप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि बहालवाला सचिवसमेत पक्राउ परिसकेका छन् । यो प्रकरणमा अन्य ठूला नेताहरुको पनि संलग्नताको कारण आम नागरिकदेखि राजनीतिक दलका नेताहरुले कारबाही हुनेमा आशंका व्यक्त गरेका छन् । त्यसैले विभिन्न राजनीतिक दलका नेता कार्यकर्तादेखि स्वस्फूर्त नागरिक समाजले दिनहुँजसो प्रदर्शन गर्दै आएको छ ।

काठमाडौंको बसन्तपुर होस् वा माइतीघर मण्डला, दिनुहँजसो हात हातमा प्लेकार्ड बोकेका समूहहरु भेटिन्छन् । ‘नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरुलाई कारबाही गर्’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर हरेक दिनहुँजसो प्रदर्शन भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि अन्य भ्रष्टाचारमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै सत्तारुढ दलदेखि सत्तारुढ दलकै युवा विद्यार्थीहरुले पनि प्रदर्शन गरिरहेका छन् भने सदनमा पनि यो विषय तातिरहेको छ । यो काण्डका अपराधीहरुलाई कारबाही गर्न आम नागरिकले दबाब दिइरहँदा विभिन्न राजनीतिक दलहरुले पनि जस लिने होडबाजी पनि उस्तै छ ।

सत्तारुढ नेकपा एकीकृत समाजवादीले कारबाहीका लागि दबाब दिन भन्दै सडक आन्दोलन नै गर्दै आएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सडक आन्दोलनमा आउन आह्वान गरिरहेको छ । सरकारलाई दबाब दिन भन्दै सडकमा प्रदर्शन गरेका रास्वपा नेताहरुले आफूहरुले कारण सरकारले अनुसन्धान थालेकोसमेत दाबी गरेका छन् ।

विहीबार एकीकृत समाजवादीले काठमाडौंमा प्रदर्शन गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि विरोधसभा आयोजना गर्यो । विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली शरणार्थी प्रकरणमा ठूला दलहरुबीच सहमति नै भएको दाबी गरे ।

विदेशीहरुको समेत चासो रहेको यो प्रकरणमा अर्बौंको भ्रष्टाचार मात्र नभई राष्ट्रद्रोह र राज्यविरुद्धको अपराध नै भएको अध्यक्ष लिङदेनको भनाई छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसददेखि पूर्वमन्त्रीहरु नै जोडिएपछि कारबाहीको माग गर्दै चौतर्फी दबाब बढिरहेको छ ।

 

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *