
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समयमै मल उपलब्ध गराउन भारत सरकारसँग मल खरिदको सम्झौता भइसकेको बताए । गत वर्ष जस्तो किसानलाई मल अभाव हुन नदिनका लागि यस वर्ष समयमै मल, बिउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको र सम्बन्धित मन्त्रालयबाट काम अगाडि बढिसकेको प्रधानमन्त्रीको दाबी छ । प्रधानमन्त्री दाहालले यस वर्षको नीति, कार्यक्रम र बजेटमा कृषि र किसानहरुको हीतलाई ध्यानमा राखिएको उल्लेख गरे । त्यस्तै उत्पादन र रोजगारी बृद्धिको कुरालाई उच्च प्राथमिकता दिइने उनले प्रतिबद्धता व्यक्त गरे ।
आलु किन्नै अर्बौं रुपैयाँ
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले नेपाल आलु उत्पादन गर्ने देशहरुमा अग्रपंक्तिमा देखाउँछ । तर भन्सार विभागको तथ्यांक हेर्ने हो भने चालू वर्षको ९ महिनामा नेपालले ६ अर्ब ९० करोड ८६ लाख रुपैयाँको आलु आयात हुँदा सोही अवधीमा नेपालबाट जम्मा ३० लाख ९५ हजार रुपैयाँको मात्रै आलु निर्यात भएको छ । समीक्षा अवधिमा नेपालले भारत, बंगलादेश, अमेरिका, नेदरल्यान्ड्स र इन्डोनेसियाबाट २६ करोड ४१ लाख २६ किलोग्राम आलु आयात गरेको छ । आयातीत आलुमा ९९ प्रतिशत हिस्सा भारत र बंगलादेशको छ । साउनदेखि चैतसम्ममा ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको २६ करोड ५ लाख ९४ हजार किलोग्राम भारतबाट र ८ करोड ५१ लाख रुपैयाँबराबरको ३५ लाख २८ हजार किलोग्राम आलु बंगलादेशबाट आयात भएको छ ।
आर्थिक वृद्धिदर चिन्ताजनक
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा ८१ प्रतिशत योगदान रहेको निजी क्षेत्रलाई फस्टाउने वातावरण सिर्जना नगरे अर्थतन्त्र संकटमा पर्ने बताएका छन् । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान बारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दे ढकालले ९ महिनामै ६ लाख युवा कामका लागि विदेशिएको तथ्य उजागर गर्दे आर्थिक बिकासका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका आवश्यक रहेको जनाएका छन् । अध्यक्ष ढकालले ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको अध्ययनमा देखिएको दावी गरे । न्यून मागका कारण निजी क्षेत्रका अधिकांश व्यवसाय आधाभन्दा कम क्षमतामा चलिरहेको उल्लेख गर्दै ढकालले तीन त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक रहनु चिन्ताजनक अवस्था भएको बताए ।
चेम्बर एक्स्पो
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले निजी क्षेत्र मैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेकाले उद्योग व्यवसाय मैत्री नीति मार्फत निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले विहिबारबाट सुरु गरेको छैटौँ चेम्बर एक्स्पोमा बोल्दै मन्त्री भण्डारीले अर्थतन्त्र चलायमान बनाउनका लागि पनि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको भन्दै नीजि क्षेत्रका समस्याहरु समाधान गर्र्न पछि नपर्ने बताएका छन । जेठ ८ गते सम्म सञ्चालन हुने एक्स्पोमा नेपालमा उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरु, जडीबुटी, अटोमोवाईल, विद्युतीय सामाग्री, फेसन वेयर, छाला जन्य वस्तुहरू, प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ ।
सौर्य विद्युत् परियोजना रफ्तारमा
राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य ७० प्रतिशत काम पूरा भएको छ । कुल ७९ करोड लागत रहने परियोजनाको निर्माण कार्य साढे तीन वर्षअघि सुरु गरिए पनि कोरोना महामारी लगायतका विविध कारणले निर्धारित समयमा सम्पन्न हुन सकेको थिएन् । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनामा २२ बिघा जमिनमा हाल प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको र असार मसान्तसम्म सम्पन्न गर्ने गरि काम भइरहेको छ ।