
काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनसँगको सहमति नीति तथा कार्यक्रममा समेटेको छ ।
शुक्रबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कारसम्बन्धी कोष सञ्चालन गरिने विषय पेस गरिनेसमेत सरकारले जनाएको छ ।
गएको वैशाख १८ गते सरकार र पुनबीच ७ बुँदे सहमति भएको थियो । पुनले बजेटको १ प्रतिशत नवप्रवर्तन तथा आविष्कारमा लगानी गर्नुपर्ने मागसहित धर्नामा उत्रिएका थिए । धर्नामा उत्रिएको केही दिनमा सरकार र पुनबीच सहमति भएको थियो ।