- खेम ढुङ्गाना
कैलाली । सुदूरपश्चिम प्रदेशमा कमलबहादुर शाह मूख्यमन्त्री भएको शुक्रबार एक सय दिन पुगेको छ । तर शाह मुख्यमन्त्री भएको १०० दिन पूरा भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
भागबन्डामै रुमलिँदा सरकारको आधारभुत काम समेत ओझेलमा परेको छ । हनिमुन पिरियडको अन्तिम दिन हुन लागेको सरकार विस्तारसमेत अन्तिम समयमा कुरा नमिल्दा रोकिएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएको १०० दिनसम्म पनि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अहिले मन्त्रीविहीन छ भने सदन समेत चल्न सकेको छैन ।
मुख्यमन्त्री शाहले भने सरकारको सय दिन उपलब्धिमुलक रहेको दाबी गर्छन् ।
प्रमुखपतिपक्षी दल नेकपा एमालेले भने सरकराको सय दिन उपलब्धिविहिन रहेको टिप्पणी गरेको छ । सरकारलाई पुर्णता दिन नसक्ने सरकारले जनताको पक्षमा काम गर्छौ भन्नु लाजमर्दो कुरा भएको एमालेको प्रतिक्रिया छ ।
सरकारले ‘हनिमुन पिरियड’ मा आधारभूत कामसमेत गर्न नसकेको भन्दै विपक्षी दलमात्रै नभइ सत्ता गठबन्धनकै सांसद रुष्ट छन् ।
सरकारको सय दिनमा सरकार विस्तारको तयारी गरिए पनि अन्तिम समयमा सहमति नजुट्दा शुक्रबार पनि मन्त्रिपरिषद विस्तार हुन सकेन । केहीदिन भित्रै सरकारले पूर्णता पाउने माआवादी नेताहरुको भनाइ छ ।
सरकार विस्तार नहुदा अहिले मन्त्रालय सुनसान जस्तै बनेका छन् । बजेट निर्माणको बेला भइसक्दा मन्त्रालयमा कर्मचारीसमेत भेटिन छाडेका छन् ।
मिनी संसद्को रूपमा परिचित संसदीय समितिहरू पनि अझैसम्म गठन हुन सकेको छैन ।




