- ज्योति कुमार पन्थी
बर्दिया । बर्दियाको जब्दीपुल मुनी ७ दिन देखि आमरण अनसनमा बसेका सांसद सञ्जयकुमार गौतमको मागलाई सरकारले अहिलेसम्म सुनुवाई गरेको छैन ।
पुल पुनः निर्माणको माग राख्दै अनसन बसेका गौतमको स्वास्थ्य दिनप्रतिदिन विग्रदै गइरहेको छ । तर, नागरिक समाजको अगुवाईमा एक दर्जन संघ सस्थाहरुले सांसदको जीवन रक्षा तथा समर्थन र्याली निकाल्दै प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत ज्ञापन पत्र बुझाएका छन् ।
बर्दियाको गुलरिया नगरपलिका र बारबर्दिया जोडने जब्दीपुल पुनः निर्माण लगायतका माग राख्दै प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतम आमरण अनसन बसेको शुक्रबार ७ दिन पूरा भएको छ ।
अनसन बसेका सांसद गौतमको जिवन रक्षा र मागहरु तत्काल सम्बोधन गर्न माग गर्दे गुलरियामा नागरिक समाजको अगुवाईमा एक दर्जन संघ सस्थाहरुल समर्थन र्याली समेत निकालेको छ । साथै संघ संस्थाहरुले प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत ज्ञापन पत्र बुझाएका छन ।
सांसद गौतमको माग सुनुवाई गर्न सरकारलाई दबाब दिनका लागि ऐक्यबद्धता जुलुस निकालिएको नेपाल बार एसोसिएसनले बताएको छ ।
निर्माण सम्पन्न नहुँदा जनताले सास्ती खेप्नु परेको भन्दै अनसनमा बसेका सांसद गौतमको मागमा सरकार मौन बसको नागरिक समाजको आरोप छ ।
नागरिक समाजले प्रधानमन्त्रीलाई प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको ज्ञापन पत्र समेत पठाउने र अहिलेसम्म सरकारी तवरबाट यो विषयमा आफुलाई कुनै जानकारी नआएको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले बताए ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं ४ र बारबर्दिया नगरपालिकको वडा नं. १० जोडने जब्दीपुल २०७४ सालमा पप्पु कन्स्टक्सनले निर्माण गरेपनि हस्तान्तरण हुन नपाउँदै बबई नदीमा आएको बाढीले भासिएको थियो भने २०७९ सालमा आएको बाढीले पुलका ४ वटा स्लाप नै बगाएको थियो ।




