नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग, चीनबाट भित्रियो ३५ हजार टन मल (अर्थ रफ्तार)

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग, चीनबाट भित्रियो ३५ हजार टन मल (अर्थ रफ्तार)

काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेका छन् । शुक्रबार संघीय संसदमा पेस भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको छ । छलफलमा भाग लिंदै ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम नभएको बताए । न्याय र समृद्धिको योगफल नै लोकतन्त्र हो भन्दै ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरे । सरकारले देशको असामान्य आर्थिक अवस्थाको यथार्थलाई पनि लुकाउन खोजेको आरोप लगाएका छन् ।

चीनबाट भित्रियो रासायनिक मल

चीनसँगको नेपालको उत्तरी सीमा नाका तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएसँगै पछिल्लो सातादेखि करीब ३५ हजार टन रासायनिक मल नेपाल भित्रिएको छ । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको हो । तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १ सय टन रहेकाले अहिलेलाई ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी भइरहेको सिल्क ट्रान्सपोर्ट कम्पनीले जनाएको छ । यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि समग्री र ४ हजार टन साल्ट ट्रेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइ सकेको छ । तातोपानी नाकाबाट चालु वर्षमा ४ अर्ब ६२ करोड राजस्व संकलन गर्ने लक्ष्य भए पनि अहिलेसम्म २ अर्ब ५४ करोड मात्रै राजस्व संकलन भएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको काम धमाधम

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–२ अन्तर्गत हालसम्म १८ वटा सुरुङ खन्ने काम सकिएको छ । आयोजनाका अनुसार एक हजार तीन सय ८३ दशमलव ८२ मिटरको प्रवेश सुरुङ, दुई सय ७० मिटरको मुख्य प्रवेश सुरुङ, तीन सय ५६ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–१, एक सय दुई दशमलव सात मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–२, दुई सय १८ मिटरको मुख्य सुरुङतर्फको अडिट सुरुङ–३ र चार सय ३७ दशमलव १२ मिटरको सर्जट्यांकतर्फको सुरुङ खन्ने काम सकिएको छ । एक हजार चार सय ५६ मिटरको हेडरेस सुरुङमध्ये हालसम्म आठ सय ७३ दशमलव आठ मिटर सुरुङ खनिए पनि बाँकी खन्ने कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

उद्योग व्यवसायलाई बजेटमा प्राथमिकता

अर्थमन्त्री प्रकाशशरण महतले उद्योग व्यवसायलाई प्राथमिकता दिने गरि बजेट आउने बताएका छन् । अर्थमन्त्री महतले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले वर्तमान अर्थतन्त्रका बारेमा राखेका विभिन्न जिज्ञासाको जवाफ दिदैँ अर्थतन्त्रमा अहिलेको सूचकहरुको सम्वन्धमा भएको छलफलमा उद्योग व्यवसायलाई प्राथमिकता दिने बजेट आउने बताएका हुन । उनले पुँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन अर्थतन्त्र सुदृढ हुने नहुने कुरामा आफू स्पष्ट रहेको बताएका छन् । समग्र उद्योग व्यवसाय, र अर्थतन्त्रको कुरा गरेको र एउटा व्यक्ति, व्यवसायको फाइदाका लागि आफूबाट केही नहुने भन्दै अर्थक्षेत्रको सुधारका लागि व्यक्ति र पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्र बैंकको सेयर बिक्री

नेपाल राष्ट्र बैंकले नेप्सेमा आफ्नो स्वामित्वमा भएको ६९.७७ प्रतिशत सेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गरेको छ । अब नेप्सेमा नेपाल राष्ट्र बैंकको ७ लाख २९ हजार ९८९.५ कित्ता सेयर छ । जसबाट दुवै निकायबीच भएको आपसी समझदारीपछि राष्ट्र बैंकको ५ लाख ९ हजार ३४२ कित्ता सेयर प्रतिकित्ता ६७६ रुपैयाँ ५२ पैसाका दरले ओटीसी बजारमार्फत वाणिज्य बैंकलाई बिक्री गरेको हो । यसअघि नेप्सेमा नेपाल राष्ट्र बैंकको १४.६ प्रतिशत र वाणिज्य बैंकको ६.१४ प्रतिशत सेयर स्वामित्व थियो । नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, लक्ष्मी बैंकको ५, प्रभु बैंकको ५ तथा अन्य कम्पनीको ०.६ प्रतिशत सेयर स्वामित्व छ ।

छुट्टै पाठ्यक्रमको तयारी

बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयबीच दक्ष एवं प्रतिस्पर्धी मानवीय पुँजीको उत्पादन एवं उपयोगका लागि सम्झौता भएको छ । बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पुँजीको अवस्था, विद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पुँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयन गर्न सम्झौता गरिएको आज जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । पाठ्यक्रममा कर्जा जोखिम, सम्पत्ति व्यवस्थापन, तरलता र जोखिम मूल्यांकन, तरलता र जोखिम व्यवस्थापन, वित्तीय उपकरण विकास, वित्तीय इन्जिनियरिङ, डिजिट/क्रिप्टो करेन्सीलगायत विषय समेटिने छन् ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *