घुम्न जाऔँ सोलुखुम्बुको पाँच पोखरी (तस्वीरहरु)

घुम्न जाऔँ सोलुखुम्बुको पाँच पोखरी (तस्वीरहरु)

  • जाङ्बु शेर्पा

काठमाडौं । सोलुखुम्बुको पाँचपोखरी नेपालको प्रमुख (जेठो) पाँचपोखरी हो, जुन सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१, मकालु बरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित छ। सोलुखुम्बु पाँच पोखरी ट्रेक आन्तरिक पर्यटकका लागि खुल्ला पदयात्रा गन्तव्य हो। र, यो पाँचपोखरी नेपाल पर्यटन बोर्डले नेपालका १०० नयाँ पर्यटकीय गन्तव्यमध्ये शीर्ष ९ मा सूचीकृत पनि गरेको छ । सोलुखुम्बुको पाँचपोखरी अन्य पाँच पोखरीभन्दा सबैभन्दा ठूलो र अग्लो स्थानमा रहेको पोखरी पनि हो।

पहाडको थुम्कामुनि रहेका ५ वटा पोखरीकै नामबाट पाँच पोखरी रहन गएको भन्ने पनि छ । त्यसो त पाँच पोखरीको बारेमा किंवदन्तीअनुसार फरकफरक भनाइहरु पनि रहेको पाइन्छ । यद्यपि, पाँच पोखरीबारे जे जे वर्णन गरिएको पाइए पनि यो पोखरी अनुपम छ, सुन्दर छ, जति हेरे पनि हेरिरहुँ जस्तो छ । शब्दमा बयन गर्न असम्भव छ ।

 

पाँच पोखरी जाँदा यात्रामा रमाइला र मनमोहक दृश्यहरुको अवलोकन गर्न पाइन्छ । प्रकृतिलाई नजिकबाट नियाँल्दै जाँदा त्यहाँका स्थानीयवासी र उनीहरुले जगेर्ना गरेका सम्पदाहरु पनि नियाल्न सकिन्छ ।

पाँच पोखरीको यात्राका दौरानमा खिरौले गाउँ भेटिन्छ । यो शेर्पा गाउँ हो । उक्त गाउँमा रहेको खिरौले गुम्बा महाकुलुङ सोलुखुम्बुको स्थानीय पर्यटकीय गन्तव्य पनि हो। गुम्बाको नाम न्योङ्ग थ्याकछोक छोलिङ हो, जुन सन् १७३८ मा स्थापित भएको थियो ।

 

यो नेपालको सबैभन्दा पूरानो गुम्बामध्ये एक हो । यो गुम्बा मनमोहक र अद्वितीय डिजाइन भएका कारण पर्यटक तथा आगन्तुकहरुका लागि अवलोकनको विशेष सूचीमा रहेको छ । नेपालमा विरलै पाइने अग्लो पाइन रूखले घेरिएको यो गुम्बा २०० वर्षअघि दार्जिलिङबाट ल्याएको मानिन्छ। यस गुम्बाको सांस्कृतिक महत्व पनि उत्तिकै मूल्यवान छ । यो गुम्बालाई “मौन ध्यान” (शेर्पा भाषामा ङ्युङने र नेपालीमा मौन ब्रत माउन्ट) भनेर पनि चिनिन्छ ।

प्रत्येक महिनाको दशमी (पूर्णिमाको दशौं दिन) गाउँलेहरूले यस गुम्बामा बत्ती बालेर बुद्धको आराधना र खाना खुवाउने चलन छ । त्यसैले यो दिन गाउँलेहरुका लागि महत्त्वपूर्ण पर्व पनि हो । २०७२ को र त्यसअघिको भूकम्पले गुम्बाका केही भागमा क्षति पुर्याएपछि गाउँलेहरु मिलेर त्यसो पुनःनिर्माण गरेका छन् ।

फोक्टे पोखरी पाँचपोखरीको भाग भनेर चिनिन्छ जुन जंगल क्याम्प (चोलेम) जाने बाटोमा अवस्थित छ। फोक्टे पोखरीलाई नेपालको नक्साजस्तो पोखरीको आकार भएको पोखरीका रुपमा पनि चिनिन्छ । झट्ट हेर्दा यो नेपालको नक्सासँग मिल्दोजुल्दो छ । यो पोखरी हेर्दा मनमस्तिष्कमा बेग्लै तरंग पैदा हुन्छ ।

माथि पनि भनियो पाँच पोखरी पाँच तालको संयोजन हो। पाँच पोखरी पवित्र ताल हो र यहाँ विभिन्न नामहरू भएका सुन्दर पाँच तालहरू छन् । जस्तैः बुवा पोखरी, आमा पोखरी, छोरा पोखरी, छोरी–बुहारी पोखरी र घोथालो÷कमरा पोखरी। यीनै पोखरी मिलेर एकल नाम बनेको पाँच पोखरीमा भदौ महिनाको जनै पूर्णिमा र नागपञ्चमीका दिन हजारौंको संख्यामा दर्शनार्थी जाने गर्दछन् । त्यसो त सोलुखुम्बुको पाँचपोखरी पदयात्राको क्रममा पदयात्रीले पूर्वी तल्लो सोलुखुम्बुको उपत्यका र केही हिमाल (नुम्बुर, कुसुम काङ्गुरु, कांगटेगा, क्याशर र कञ्चनजङ्घा) का हिमशृङ्खलाहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ ।

पाँचपोखरी पुग्न हुर्हुरे पास (४२८६ मिटर) पार गर्नुपर्छ। हुर्हुरे पासको उचाइ ४२८६ मिटर रहेको छ । यहाँबाट पूर्व तल्लो सोलुखुम्बुको उपत्यका र केही हिमालहरू मज्जाले हेर्न सकिन्छ।

मकालु बरुण राष्ट्रिय निकुञ्जले सोलुखुम्बु र संखुवासावा जिल्लालाई समेट्छ। सोलुखुम्बु पाँच पोखरी पदयात्रा तल्लो सगरमाथा क्षेत्रको मकालु बरुण राष्ट्रिय निकुञ्ज भित्र पर्छ। सोलुखुम्बुको पाँचपोखरी पदयात्राको क्रममा गुराँसका वन, बाँसका वन, अल्पाइन वन, रेड पाण्डा, राष्ट्रिय चराचुरुङ्गी डाँफे, मुनाल र अन्य धेरै चराहरू पनि हेर्न सकिन्छ ।

सोलुखुम्बु पाँच पोखरी पदयात्रामा भूगोल, जीवनी र सांस्कृतिक गाउँको ठूलो प्राकृतिक विविधता रहेको पनि देख्न सकिन्छ। अधिकांश समय पाँचपोखरी हिउँले ढाकेको हुन्छ । हरेक मौसममा त्यहाँ वरपर विभिन्न फूल र जडीबुटीहरू फूल्छन्। साथै, पूजाआजा गर्नाले मनोकामना पूरा हुने जनविश्वास पनि रहेको छ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *