
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् ।
उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उनको तर्क थियो ।
नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणको काममा एकजुट भएर लाग्नुपर्ने आवश्यकता पनि औंल्याए । प्रजातन्त्रको खिलापमा एकथरी लागिपरेको उल्लेख गर्दै उनले त्यसको सुदृढीकरणमा सबै राजनीतिक दलहरु लाग्नुपर्ने बेला आएको पनि बताए ।
‘आलोचनाबाट काँग्रेस डराउनुपर्ने कुरा छैन । डराउँदैन पनि । कतिपय उचित आलोचनाहरु हुन्छन् । त्यसले आगामी दिनमा काम गर्न अझ आलोचनाले कामहरु गर्न झन उत्साह हुन्छ । केही समस्या भए करेक्शन पनि हुन्छ । त्यसकारणले केही समस्या भए समाधान गर्न पनि सहज हुन्छ आलोचनाले,’ देउवाले भने, ‘अहिले बडा चुनौति आएको छ देशमा । राष्ट्रमा लामो लडाईपछि आएको प्रजातन्त्र हो । यसको खिलापमा पनि एकथरी लागेका छन । त्यसकारणले यस्तो हुनुलाई अन्यथा लिनु हुँदैन । त्यसकारण हामी सबैले एकजुट भएर प्रजातन्त्रको सुदृढीकरण गर्ने काममा, केही कमी छन भने सुधार्दै अगाडि बढ्नुपर्दछ । प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हो । अरु कुनै हुन सक्दैन । यो कुरा सबैले बुझ्नुपर्दछ भन्न चाहन्छु ।’
त्यस अवसरमा सभापति देउवाले प्रजातन्त्रको सुदृढीकरणमा योगदान पुर्याएको भन्दै नेपाल प्रेस युनियनको पनि प्रशंसा गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यक्ता औंल्याउँदै त्यसमा साथ दिन सबै सञ्चार संवद्ध संघ, संगठनहरुलाई आह्वान गरे । उनले ठूलो लगानीका सञ्चार गृहहरुले समेत श्रमजीवी पत्रकारहरुलाई अन्य विकल्प खोज्न दबाब दिएको भन्दै त्यसको विरुद्ध डटेर मुकाविला गर्नुपर्ने बताए । उनले सञ्चारमैत्री कानुन निर्माणमा ध्यान दिन सरकारलाई पनि सचेत गराए ।