काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताएका छन् ।
पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो । शनिबार प्रतिनिधिसभा बैठक सूरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिएका थिए ।
प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन रहेको पनि स्मरण गराए । उनले सो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासन समेत दिए ।
‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन,’ प्रधानमन्त्रीले भने, ‘जलहरीका केही विषयबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानविन, अनुसन्धान भईरहेको छ । यस विषयमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानविन गर्नेनै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकि विस्तृत रुपमा म त्यतिबेला नै कुरा राख्नेछु ।’
प्रधानमन्त्रीको जवाफ दिएपछि एमालेले संसद अवरुद्ध गर्न छाडेको छ । अहिले संसद बैठक सूचारु भएको छ भने माओवादी सांसद दाहालको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइएको छ ।




