काठमाडौँ । पशुपतिमा राखिएको जलहरी नै नक्कली सुनको भएको सत्तारुढ माओवादी सांसदले सदनमा कुरा उठाएपछि नेकपा एमालेले शुक्रबार सदन नै चल्न दिएन । एमालेको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रममाथिको छलफल नै प्रभावित भयो । बजेटको पूर्व सन्ध्यामा सदन चल्न नसक्ने अवस्था भएपछि जलहरीका विषयमा दिएको सांसदको अभिब्यक्ति नै रेकर्डमा नराख्ने सहमति गरेका छन् । अनुसन्धान गर भन्नुको साटो विरोधका स्वरहरु नै हटाउने चेष्टा गरेको एमालेप्रति मात्रै विरोध नभई प्रमुख तीन दल र शीर्ष नेताहरुमाथि समेत अनियमिततालाई संस्थागत गर्न खोजेको हो भन्दै प्रश्न उठेको छ ।
नक्कली शरणार्थी प्रकरणबारेको छानबिन चलिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जेठ १० गतेको संसद बैठकमा पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी नै नक्कली भएको आशयको अभिब्यक्ति दिएका थिए । दाहालले सदनमा दिएको अभिब्यक्तिको दुई दिनपछिको संसद बैठकमा एमालेले रडाको मच्चायो । राज्यको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गइरहेको अवस्था छ । नागरिकलाई अनागरिक बनाएर नीतिगत रुपमै भ्रष्टाचार भएका कुरासमेत छताछुल्ल भएका छन् । नेपालमा भ्रष्टाचारको मुल जरो नै राजनीति हुँदै गएको छ ।
यति, ओम्नी, वाइडबडी, ललिता निवास, ३३ किलो सुनकाण्ड लगायतका दर्जनौं काण्डहरु ओझेलमा छन् । पशुपति मन्दिरमा चढाइएको जलहरीमा समेत अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमै उल्लेख छ । जुन अझैसम्म छिनोफानो हुन सकेको छैन । यहि विषय सदनमा उठेपछि ढाकछोप गर्ने काम पछिल्लो पटक शीर्ष नेताहरुले गरेका छन् । सदनमा उठेको विषयलाई छानबिन गर्नुको सट्टा शीर्ष नेताहरुको सहमतिमा सांसदको रेकर्ड नै हटाउने सहमति गरेका छन् ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नै पशुपतिमा रहेको चाँदीका जलहरी हटाएर सुनको राख्न निर्देशन दिएका थिए । सुनको जलहरी राख्न सरकारबाट ३० करोड रुपैयाँ दिने उनले नै घोषणा गरेका थिए । जलहरी लगाउँदा सुन हराएको भनी महालेखा परीक्षकको कार्यालयकै प्रतिवेदनलाई आधार मानेर अनुसन्धान गर्नुपर्ने भन्दै छानबिन समिति बनाउनुपर्ने माग सांसदहरुले गरेका थिए ।
तत्कालिन केपी ओली नेतृत्वको सरकारको पालामा सुनको जलहरी राखिएको हुँदा त्यसमा अनियमितता भए तत्कालिन सरकार जवाफदेही हुनुपर्ने तर्क सांसद दाहालको थियो । नागरिकलाई शरणार्थी बनाएर लुट मच्चाउने धन्दामा राजनीतिक दलकै ठूला नेताहरुको संलग्नताबारे मुद्दा चलिरहेको छ । त्यसैले धार्मिक क्षेत्रमा समेत भ्रष्टाचार नहोला भन्ने कुनै आधार छैन । यतिबेला पशुपतिको जलहरी सुन कि पित्तल भन्ने बहस होइन, तथ्य के हो भन्ने अनुसन्धान जरुरी छ । जुनसुकै भ्रष्टाचारका काण्डमा दलीय सौदाबाजी गरिनु हुँदैन ।




