
काठमाडौं । आम माफी पाएर कारागारबाट रिहा भएका रेशमलाल चौधरीले लाल आयोग प्रतिवेदन सार्वजनिक नगर्नु राज्यको दोष भएको टिप्पणी गरेका छन् ।
रिहा भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले शहिदका परिवारले आफ्नो परिवारका सदस्य कसरी मारिए भनेर थाहा पाउन जरुरी रहेकोले सरकारले प्रतिवेदन सार्वजनिक गरिनुपर्ने बताएका हुन् ।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु राज्यको दोष हो । अदालतको आदेशलाई मानेर हामीले जेल बस्यौँ । र, हामीले देशको धारा र उपधारालाई मान्यौँ । सरकारले आँफै लाल आयोग गठन गरेको हो । ग्रीसचन्द्र लालको संयोजकत्वमा गठन भएको लाल आयोगले लेखेको प्रतिवेदन सार्वजनिक गरिनु पर्दछ ।’
उनले सहादत प्राप्त गरेका शहिदका परिवारले पनि न्याय पाउनु तर्क पनि गरेका छन् । ‘अढाइ वर्षे बच्चाको आत्मले पनि शान्ति पाउनु पर्छ । उहाँहरुको लागि लडिदिनु पनि हाम्रो दायित्व हो । उहाँहरुले सोचेकोजस्तो अन्तिम सत्य हो वा होइन त्यो थाहा पाउनु पर्छ,’ उनले भने, ‘आफ्नो श्रीमान कसरी मरे आफ्नो दाई कसरी मारिए । भाइ तथा बच्चाहरु कसरी मारिए भनेर । भलै समाजमा एक विषयले बादल मडारिएको होला । तर अन्तिम सत्य परिवारले थाहा पाउनु पर्दछ।’
टिकापुर हिंसामा आफूहरुको संलग्नता नरेको दाबी गरे । उनले टिकापुर घटना कुनै बन्द कोठामा नभएको बताउँदै उनले अझै पनि सो घटनाको फुटेजहरु छताछुल्ल रहेकाले हेर्न सकिने बताए ।
आन्दोलनका बेला आन्दोलनकर्मीहरुको हातमा भाला, बञ्चरो तथा हतियार नभएको उनले दावी गरेका छन् । घटना भएको ठाउँबाट आन्दोलनकर्मीहरु ३ किमी पर भएको उनको जिकिर छ ।
जसका लागि आफू प्रमाणसहित देखाउन सक्ने भन्दै सरकारले लाल आयोग प्रतिवेदन चाँडै सार्वजनिक गर्नुपर्ने चौधरीले बताएका छन् ।