काठमाडौं । संसदीय सुनुवाई समितिले पूर्णता पाएसँगै प्रधानन्यायाधीश सिफारिस प्रक्रिया अघि बढ्ने भएको छ । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रिया अघि बढ्ने भएको छ । आइतबार गठन भएको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजेका लागि बोलाइएको छ ।
गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।
संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध १ फागुन २०७८ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।
निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ । हाल कार्की कामु प्रधानन्यायाधीश छन् ।
प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
रेशमलाई न्याय भएन : रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रेशमलाल चौधरीलाई अन्याय भएको बताएका छन् । रेशम निर्दोष छन भन्ने विश्वासका कारण आफ्नो पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने माग राखेको स्मरण गर्दै उनलाई आममाफी दिएर छोड्दा न्याय नभएको बताएका हुन् ।
रेशम निर्दोष भएपनि उनलाई गलत प्रक्रियाबाट छुटाइएको भन्दै रविले न्याय नभएको जिकिर गरेका हुन् । रेशमले आफू र थारुहरुको संघर्षलाई जितमा बदल्न नसकेको रविको भनाई छ ।
रेशमको रिहाइबारेको प्रश्नमा रविले भने, ‘अहिले उहाँ निर्दोष भएर छुट्नु भएन । जुन लडाईँ उहाँको थियो, यो लडाइँ उहाँले जित्नु नै भएन, उहाँको रिहाइ विजय होइन, त्यो बाँकी नै छ ।’ रेशम जेलबाट रिहाई भएपछि उनी आफ्नो गृहजिल्लातर्फ लागेका छन् ।
गणतन्त्रलाई राजा होइन नेताहरुबाटै खतरा छ : कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र राजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको दाबी गरेका छन् ।
नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं. १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले राजनीतिक दलका शैली र क्रियाकलाप ठिक नभएकाले गणतन्त्रप्रति जनताको वितृष्णा पैदा भएको बताए ।
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन दिन, विधिको शासनमा देशलाई हिँडाउन, महँगी नियन्त्रण गर्न नसकेकै कारण जुन व्यवस्था आए पनि उस्तै रहेछ भन्ने छाप जनतामा परेको उनको तर्क छ ।
नेता कोइरालाले कांग्रेस पार्टीका बारेमा नकारात्मक कुरा गरेर संगठन कमजोर बनाउने काम नगर्न कार्यकर्तालाई निर्देशन दिए ।
पछिल्लो समय कांग्रेसमा सभापति शेरबहाददुर देउवाले एकलौटी गर्न थालेको भन्दै इतर पक्ष क्रुद्ध देखिन्छ । उनीहरुले पछिल्ला गतिविधिकै कारण मुलुक र पार्टी संकटमा पर्दै गएको जिकिर गर्दै आएका छन् ।




