काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टीकापुर घटनामा अदालतबाट दोषी ठहर भई राष्ट्रपतिबाट कैद सजाय माफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याँई गरेको आरोप लगाएका छन् ।
कांग्रेसको राजनीतिक इतिहासले पनि यस्तो गर्नु गल्ती हुने दाबी गरेका थापाले बरु आफ्नो पद गएपनि संघर्ष गर्ने र कांग्रेसलाई सत्ता लिप्साबाट जोगाउने तर्क गरेका छन् ।
अदालतको पूर्णपाठ नआई रेशमलाई माफी दिनु गलत रहेको उनको भनाई छ । रेशमको सजाय माफीमा आक्रोश पोखेका उनले पार्टी सत्तामा लिप्त हुन पुगेको आरोप समेत लगाएका छन् ।
चुनावअघि गठबन्धन नगर्ने बरु चुनाव हार्न तयार हुने थापाको प्रतिबद्धता छ । विधिको शासनको वकालत गर्दै गर्दा सरकार गए पनि फरक नपर्ने र अर्को सरकार बन्ने भन्दै थापाले तीब्र असन्तुष्टी पोखेका छन् । यता, कांग्रेस संस्थापन पक्षले भने यसबारे कुनै धारणा व्यक्त गरेको छैन् ।




