काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री महतले बजेटको लक्ष्य समृद्धि, सुशासन र सामाजिक न्यायप्रति लक्षित हुने बताएका छन् । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित भएको उनको भनाई छ । आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने र पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचमा पुर्याउनेतर्फ बजेट लक्षित गरेको अर्थमन्त्री महतले बताएका छन् । त्यसैगरी, आगामी बजेट सुशासन र सामाजिक न्याय कायम गर्न बजेट लक्षित रहने बताइएको छ ।
सरकारी खर्च १५ खर्ब ४ अर्ब
सोमबार संघीय ससंदमा बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान सार्वजनिक गरेका छन् । यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनियोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड रुपैयाँ अर्थात ६७.९१ प्रतिशत र वित्तीय व्यवस्था तर्फ रु २ खर्ब ३ अर्ब २६ करोड अर्थात ८८ प्रतिशत खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ । भने, यो वर्ष आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत मात्रै हुने अनुमान छ । त्यस्तै, सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०÷८१ को बजेट तयार पारिएको छ ।
राजस्व संकलन १६ प्रतिशत कम
चालू आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन हुने अनुमान गरिएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको बजेट वक्तव्यमा यो लक्ष्यको तुलनामा ८४ प्रतिशत मात्रै भएको बताए । यो गत वर्षको तुलनामा ५ दशमलव ९ प्रतिशतले कमी हो । राजस्व कम हुनुमा चालु आर्थिक वर्षमा लिएका आयात नियन्त्रणका उपाय, आर्थिक गतिविधिमा आएको संकुचन लगायतका कारणले राजस्व लक्ष्यभन्दा कम संकलन हुने अनुमान गरिएको हो ।
प्रदेश र स्थानीय सरकारलाई केन्द्रको बजेट
सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड गरी जम्मा रु १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै सशर्त अनुदान तर्फ प्रदेशलाई रु ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई रु १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन गरेको बताएका छन् । त्यसैगरी समपूरक अनुदानतर्फ प्रदेशलाई रु ६ अर्ब २२ करोड र स्थानीय तहलाई रु ७ अर्ब ५ करोड गरी जम्मा रु १३ अर्ब २७ करोड विनियोजन गरिएको छ । विशेष अनुदान तर्फ प्रदेश र स्थानीय तहलाई क्रमशः रु ४ अर्ब ४६ करोड र रु ८ अर्ब ७३ करोड विनियोजन गरिएको र राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा जम्मा रु १ खर्ब ७३ अर्ब ९२ करोड रकम हस्तान्तरण हुने अनुमान गरिएको छ ।
कृषिमा फराकिलो बजेट
सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गरेका छन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु ५८ अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ । गत आर्थिक वर्षसम्म कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा २४.७ प्रतिशत रहेको कृषि क्षेत्रको योगदान चालु आर्थिक वर्षमा आइपुग्दा २४.१ प्रतिशतमा झर्ने अनुमान सार्वजनिक भइसकेको छ । सरकारले ल्याएका कार्यक्रमबाट आगामी वर्ष जीडीपीमा कृषि क्षेत्रको योगदान बढ्ने सरकारको अपेक्षा छ । चालू आर्थिक वर्षका लागि कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तर्गत ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। आगामी वर्ष यसको आकार ३ अर्बले बढेर ५८ अर्ब ९८ करोड पुगेको छ । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०र८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
आगामी वर्षदेखि प्रि–बजेट छलफल फागुन मसान्तभित्र हुने
सरकारले आगामी वर्षदेखि फागनु मसान्तभित्र विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट (आय व्ययको वार्षिक अनुमान) पेश गर्दै पर्याप्त छलफलका लागि समय मिलोस भनेर यसो गरिने बताएका छन । बजेट आउने केही दिन अघि मात्र विनियोजन बिधेयकको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरिदै आएकोला सांसदहरुले यसमा पर्याप्त छलफल गर्ने समय नभएको भन्दै गुनासो गर्दै आएका थिए । अर्थमन्त्री डा. प्रकाशशरण महतले समृद्धि, शुसासन आर्थिक वृद्धितर्फ आगामी बजेट लक्षित भएकोे बताएका छन् । फराकिलो र दिगो आर्थिक बृद्धि हासिल गर्ने, कृषि उर्जाको विकास, पूर्वाधार निर्माण, रोजगारी सृजना लगायतलाई बजेटले जोड दिएको छ । अर्थमन्त्री डा. महतले अर्थतन्त्र लयमा फर्काउन दृढ संकल्प गरिएको उल्लेख गरे ।



