काठमाडौं । राष्ट्रपतिबाट कैद सजाय माफी पाएका रेशमलाल चौधरी जेलमुक्त भएपछि अब उनी जनप्रतिनिधि बन्न पाउलान वा के होला ? आमचासोको विषय हो । तर, राजनीतिक दलमा सक्रिय हुन पाएपनि रेशम जनप्रतिनिधि बन्न अयोग्य ठहरिने भएका छन् ।
रेशम राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा र स्थानीय तहको निर्वाचनसम्बन्धी कानूनको योग्यतासम्बन्धी व्यवस्थामा जन्मकैदको सजाय पाएको व्यक्ति प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ मा उम्मेदवारको अयोग्यताबारे भनिएको छ, ‘‘नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको ।’
जनप्रतिनिधि बन्नका लागि कानूनले तोकेको अवस्था नै यस्तो देखिएकाले उनी कानून संशोधन नभएसम्म यहि कानूनले उनलाई उम्मेदवार बन्न रोक लगाउने देखिन्छ ।




