काठमाडौं । पचास साठी वर्षदेखि भारतले हडपेको नेपालको कालापानी–लिपुलेक–लिम्पियाधुरा फिर्ता गर्ने बहस नेपालमा हुन्छ । तर भारतमा नेपालसहित पाकिस्तान, भूटान, बंगलादेश, अफगानिस्तान आदिलाई गाभेर अखण्ड भारत बनाउने बहस हुन्छ ।
आइतबार ठूलो तामझामका साथ भारतीय प्रधानमन्त्रीले त्यहाँको नयाँ संसद भवनको उद्घाटन गरे । त्यो भवनको एउटा भित्तामा अखण्ड भारतको चित्र राखेको पाइयो ।
त्यस चित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुलाई पनि अखण्ड भारतमै राखिएको छ । सम्राट अशोककालीन त्यो चित्रले तत्कालिन समयको भारतवर्षलाई प्रतिनिधित्व गर्छ ।
त्यो भित्ते चित्र इतिहाँसको एक सम्झना मात्रै भए विवाद गरिरहनु पर्ने केही थिएन । तर भाजपाकै नेताहरु भन्छन् – हाम्रो संकल्प भनेकै अखण्ड भारत हो । भारतको नयाँ संसद भवनमा अखण्ड भारतको भित्ते चित्र राखिएपछि उत्पन्न तरंग र भारतलाई छिमेकी देशहरुले दिएको प्रतिक्रिया के छ त ?
भारतको सत्तारुढ भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयं सेवक संघले अनौपचारिक रुपमा आफ्नो संकल्पका रुपमा मान्ने गरेको ‘अखण्ड भारत’ दर्शाउने भित्ते चित्र आइतबार उद्घाटन गरिएको भारतीय संसद भवनमा पनि राखिएको छ ।
यो भित्ते चित्रमा नेपालको लुम्बिनी कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ । भारतका प्रधानमन्त्रीले विभिन्न धार्मिक रितिरिवाजसहित नयाँ संसद भवनको आइतबार उद्घाटन गरेका थिए ।
नयाँ भवनमा भारतीय परम्परा र संस्कृति दर्शाउने अनेकौं कलाकृति राखिएको छ । यहि क्रममा भारतको गौरवपूर्ण महान सभ्यताको रुपमा सम्राट अशोकको बेलाको विशाल भारतको नक्सा संसद भवनको भित्तामा राखिएपछि यसले नेपालमा समेत तरंग सिर्जना गरेको छ ।
औपचारिक रुपमा भारतले अखण्ड भारतको मान्यतालाई अंगीकार गरेको छैन । तर नयाँ संसद भवनको भित्तामा चाहिँ नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेट राखेर खण्ड भारतको नक्सा टाँसेको छ ।
यो नक्सालाई भारतीय जनता पार्टीका नेता तथा केन्द्रीय सरकारका मन्त्री प्रल्हाद जोशीले ट्वीट गर्दै ‘संकल्प स्पष्ट छ । आत्मनिर्भर भारत’ भन्ने टिप्पणी गरेका छन् ।
बिजेपी नेता जोशीको ट्वीटले – भाजपा सरकार अखण्ड भारतको लक्ष्यमा दृढ संकल्पित छ भन्ने जनाउँछ । भारतीय जनता पार्टीको कर्नाटक इकाइले आफ्नो ट्वीटर हेन्डलमा ‘यो हाम्रो गौरवपूर्ण महान सभ्यताको जीवन्त प्रतिक हो’ भनेर लेखेको छ ।
भारतले मात्रै नभएर औपचारिक रुपमा राष्ट्रिय स्वयं सेवक संघ आर एस एसले पनि अखण्ड भारतलाई स्वीकार गरेको देखिदैन । तर यो हिन्दु संगठनका नेताहरुले अखण्ड भारत आफूहरुको लक्ष्य रहेको टिप्पणी गर्दै आएका छन् ।
अखण्ड भारतमा हालको अफगानिस्तानदेखि दक्षिणपूर्व एसियाको थाइल्याण्डसम्मको भूभागलाई समेट्ने गरिएको छ ।
नेपालमा प्रतिपक्षी दलका नेता हिन्दुवादी नेतासम्मले बोले, अन्य देशमा खास महत्व दिइएन
विशेषत आरएसएससँग सम्बन्धित नेता तथा संगठनहरुले अखण्ड भारतको एजेन्डा उठाउने गरेका छन् । अखण्ड भारतमा नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, बर्मा र थाइल्णडका समेत केही भूभाग समावेश गर्ने गरिएको छ ।
भारतमा अखण्ड भारतको कुरा उठेपछि नेपालमा केही तरंग सिर्जना हुने गर्छ । तर पाकिस्तान, बंगलादेश, थाइल्याण्ड आदि देशमा भने खास महत्व दिएको देखिएको छैन ।
भारतको संसद भवनमा अखण्ड भारतको भित्ते चित्र राखिएको विषयले संसदको पूर्वाधार समितिमा प्रवेश पाएको छ ।
सदस्यहरुले यस विषयमा जिज्ञासा राखेपछि ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले भारतीय संसद भवनको चित्र नेपाल सरकारको नोटिसमा रहेको जवाफ दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिदेखि भारतको भ्रमण गर्दैछन् । भ्रमणका बेला यो विषय उठाउने हिम्मत सरकारसँग छ कि छैन ? भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारमाथि दबाब बढाएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले भारतको भित्ते चित्रले नेपाल र भारतबीच सम्बन्ध बिगार्न सक्ने भएकोले यसबारे भारतले प्रष्ट पार्नुपर्ने बताएका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको कपिलवस्तु र लुम्बिनीलाई अखण्ड भारतको नक्सामा राखिनुलाई आपत्ति जनक मानेका छन् । उनले यसबारे सरकारको जवाफ मागेका छन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि कहिल्यै पराधिन नभएको नेपाली क्षेत्रलाई अखण्ड भारतमा समावेश हुनु गलत भएको टिप्पणी गरेका छन् ।
हामी कालापानी माग्दैछौं, उता नेपाललाई नै भारतमा गाभ्ने बहस हुने गर्छ
नेपालमा कालापानी क्षेत्र भारतबाट फिर्ता लिने बारे बहस हुने गर्छ । तर पूरै नेपाललाई भारतमा कसरी मिलाउने भन्ने बहस भारत तिर हुने गर्छ ।
केही महिना अघि राष्ट्रिय स्वयं सेवक संघ –आर एस एसका प्रमुख मोहन भागवतले – ‘ज्योतिषीले २५ वर्षमा अखण्ड भारत हुन्छ भनेका छन्, तर अलिकति बल लगाउने हो भने यसको आधा समयमै हामी अखण्ड भारत बनाउन सक्छौं ।’ भनेका थिए ।
आरएसएस र भारतीय जनता पार्टीका नेताहरुले बेलाबखत अखण्ड भारतबारे अभिव्यक्ति दिने गरेको भए पनि आरएसएसको औपचारिक साइटमा यसबारे खास चर्चा देखिदैन । यद्यपि आरएसएसले आफ्ना संस्थापक होन्गासान्द्रा बेण्कटर मइया शेषाद्रीको विचारलाई अनुशरण गर्छ ।
शेषाद्रीले आफ्नो पुस्तक ‘द ट्राजिक स्टोरी अफ पार्टिसन’मा अखण्ड भारतको भरपुर चर्चा गरेका छन् ।
आरएसएसले आफ्ना पाठ्य पुस्तकहरुमा पनि अखण्ड भारत बारे सामाग्रीहरु राख्ने गरेको छ । आरएसएसले औपचारिक रुपमा आफ्नो संगठनलाई गैरधार्मिक समेत भन्ने गरेको छ ।




