काठमाडौं । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले प्रधानमन्त्रीसमक्ष चिवाभञ्जयाङ नाका खोल्नका लागि भारत सरकारसँग छलफल गरिदिन आग्रह गरेका छन् ।
भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेता आङ्वोले मध्यपहाडी राजमार्गको प्रारम्भ बिन्दु पाँचथरमा पर्ने चिवाभञ्जयाङ नाका खोल्नका लागि पहल हुनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री सँगको भेटबारे जानकारी दिँदै नेता आङ्वोले भनेका छन्, ‘राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण कार्य अगाडि बढिरहेको मध्यपहाडी राजमार्गको स्तरोन्नति र कालोपत्रेको निम्ति सरकारले प्रत्येक आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट बिनियोजन गरिरहेको छ । तर प्रधानमन्त्री प्रचण्ड ज्युको यसपालिको भारत भ्रमणको मिति निश्चित भएपछिको भेटमा ‘चिवाभञ्जयाङ’ सिक्किम (भारत) अन्तराष्ट्रि नाका संचालन गर्न भारत सरकार सङ्ग प्रारम्भिक प्रकृया थालनीको निम्ति आवस्यक छलफल होस भनेर आग्रह गरेको छु।’
नेता आङ्वोले आफूले गरेको आग्रहप्रति प्रधानमन्त्री सकारात्मक भएको प्रतिकृया दिएका छन् । उनले प्रधानमन्त्रीले भारत सरकार सङ्गको छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताउँदै सोको कार्यान्वयन हुनेमा समेत आफू विश्वस्त रहेको बताएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण थालनी भएको मध्यपहाडी राजमार्ग पूर्वी पाँचथर चिवाभञ्जयाङ देखि पश्चिम दार्चुलाको झुलाघाटसम्म विकास गरिएको छ ।
यसको पूर्वी विन्दू पाँचथरको चिवाभञ्याङ भारतसँगको नाकासमेत रहेकाले सो नाका संचालन गर्न सके पाँचथरसहित समग्र मुलुकले लाभ लिन सक्नेछ ।




