
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी बलियो नबन्ने बताएका छन् । पछिल्लो समय पार्टीकै महामन्त्री गगन थापा लगायतले सभापति देउवाको चर्को आलोचना र विरोध गर्दै आएका छन् । उनीहरुप्रति नै लक्षित गर्दै देउवाले उक्त कुरा बताएका हुन् ।
शनिवार नेपाली काँग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो र बलियो नबन्ने बताएका हुन् । उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो आउने समेत बताए ।
पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको बताउँदै उनले जनताको काँधमा काँध मिलाएर, जनसम्पर्क विस्तार गरेर पार्टी ठूलो बनाउन सकिने बताए आफूले नेपाली काँग्रेसलाई अहिले देशकै ठूलो पार्टी बनाएको देउवाको दाबी छ ।
‘नेपाली काँग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूूलो पार्टी भएको छ । सत्य कुरा हो । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । यो पनि सत्य कुरा हो । सधैँ हारेको नेविसंघ जितेको छ, सानो पार्टी ठूलो पार्टी भएको छ,’ उनले भने, ‘अब यसलाई अघि बढाउनु छ । अझ यसलाई बलियो बनाउनु छ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न, पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । गाली गरेर कहाँ पार्टी बन्छ ? लडाई गर्ने हो ? अफ्ठ्यारोमा गयो भने के गर्ने ? अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठूलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन । एकजनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’
यस्तै, काँग्रेसकै अर्का नेता प्रकाशमान सिंहले पार्टी विधि र नियममा नचलेको आरोप लगाए । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले नियम र विधिबाट पार्टी सञ्चालन हुनुपर्ने बताए । विधिसम्मत रुपमा पार्टी नचल्दा नै असन्तोष व्यक्त भइरहेको उनको भनाइ थियो । उनले अबको समयमा पार्टीलाई विधिसम्मत रुपमा अघि बढाउने हो भने काँग्रेसले कुनै पनि पार्टीको चुनौतिलाई सहनु नपर्ने बताए ।