
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सफल र परिणाममुखि रहेको बताएका छन् । साथै उनले यो भ्रमण विगतका भ्रमणभन्दा फरक पाएको बताए ।
भारतको ४ दिने औपचारिक भ्रमण सकेर शनिबार बेलुका स्वदेश फर्केका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सञ्चारकर्मीमाझ कुरा गर्दै उक्त दावी गरेका हुन् ।
प्रधानमन्त्री दाहालले दुई मुलुकबीचको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजबुत बताउन आफ्नो भारत भ्रमणले महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले विगतमा थाती रहेका विषयहरुलाई पनि सम्बोधन हुने गरी भारतीय प्रधानमन्त्री मोदीसँग खुलस्त कुराकानी भएको पनि बताए ।
‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभको आधारमा थप मजदुत बनाउन यस भ्रमणले योगदान गरेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग खुलस्त रुपमा कुराकानी भई विश्वासको वातावरण सृजना भएको छ भने थाँति रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तयार भएको छ । नयाँ आम निर्वाचन पश्चातको पहिलो विदेश भ्रमणको रुपमा रहेको यो भारत भ्रमण मैले विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा यो भ्रमण परिणाममुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत गरेको छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण भविष्यका लागि पनि मार्गदर्शनको रुपमा रहने जिकीर समेत गरे ।