गगन अराजक बन्दा पनि देउवा किन भद्र ?

गगन अराजक बन्दा पनि देउवा किन भद्र ?

  • सितल रिजाल

काठमाडौं । कांग्रेसभित्रको विद्रोहले सार्वजनिक मञ्चको प्रयोग गर्दा पार्टीभित्रको आन्तरिक लोकतन्त्र सद्दे रहला ? प्रश्न उब्जिएको छ । पार्टी निश्चित मापदण्ड, आचारसंहिता, नियम र परिधिभित्र रहन्छन् । तर, कांग्रेसभित्र संस्थागत अराजकता मौलाउदै जाँदा यसले कांग्रेसलाई मात्रै नभई सिंगो मुलुकलाई नै प्रभाव पार्ने देखिन्छ । कांग्रेस महामन्त्रीको सार्वजनिक अभिव्यक्ति र सभापतिको उत्तरले कांग्रेस समस्याको भुंग्रोमामात्रै नभई आन्तरिक लोकतन्त्रको अभ्यासमा समेत कमजोर र कठिन मोडमा पुगेको प्रष्ट देखिन्छ ।

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । कांग्रेसभित्र आन्तरिक लोकतन्त्र र पार्टीलाई सवलीकरण गर्ने विषय उठ्ने गरेको छ । पार्टी विधान र यसले देखाएको परिधिभित्र नेताहरु अडिने बाटो प्रष्ट नहुँदा देशको ठूलो पार्टीको किचलो सडकमा आइपुगेको छ । यसले पार्टीभित्रको अनुशासनहिनता मात्रै नभएर अराजकताको अन्तिम रुपको समेत वर्णण गरेको छ । लामो प्रजातान्त्रिक अभ्यास गरेको ठानिएको कांग्रेसमा नेतृत्वले एकलौटी निर्णय गर्ने र संस्थापन इतरलाई पेल्ने पुरानै रोग र परम्परा नै हो । कांग्रेसमा विचार र सिद्धान्तको भन्दा पनि लिगेसीको गुट बन्ने गरेको छ । जुन अत्यन्तै घातक हो । पार्टीको विचार, सिद्धान्त र मूल एजेण्डामा आधारित गुट प्रगतिशिल हुन्छन भन्ने विश्वास गरिन्छ भने लिगेसीको गुट अराजकतामा विश्वास गर्ने मानिन्छन् । यसैमा कांग्रेसमा देखिएको यथास्थिति, गुटबन्दी, परम्परावादी, व्यक्तिवादी र सत्तावादी चरित्रलाई चिर्ने संकल्प सहित महामन्त्री गगन थापा लागिरहेको जिकिर गर्छन् । थापाले पार्टी नेतृत्वको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै आगामी दिनम नेतृत्वको व्यवहार सहेर नबस्ने चेतावनी नै दिएका छन् ।

कांग्रेस भित्रको रुपान्तरण र परिवर्तको बहसा नौलो भने होइन । विगत लामो समय देखिनै नेतृत्वको कार्यशैली प्रति प्रश्न उठाउँदै संस्थापन इतर पक्षले विरोध गर्ने गरेको छ । कांग्रेस महामन्त्रीद्वयले यसअघि नै नेतृत्व प्रति खबरदारी गर्दै आएका थिए । तर, पछिल्ला दिनहरुमा पार्टी महामन्त्री पार्टीकै कार्यक्रममा नेतृत्व प्रति खनिन थालेपछि कांग्रेस भित्रको विवाद थप उत्कर्ष र अराजकतामा पुगेको छ । कांग्रेसको आन्तरिक जीवन धरमरमा परेको बेला सभापति शेरबहादुर देउवाले भने आफू सभापतिको रुपमा अन्तिम कार्यकालमा रहेको र अब पार्टीलाई युवाहरुले नै जिम्मा लिनुपर्ने भन्दै सालिन र भद्र जवाफ फर्काए । देउवालाई विश्वास गर्ने हो भने मात्रै पनि उनले विरोध गरेर पार्टी नबन्ने र यसले कांग्रेसको राजनीतिक जीवन नै खतरामा पर्ने दाबी गरे । जुन सत्यसँग नजिक पनि छ ।

देउवाले इतर पक्षलाई पेल्दै आएपनि उनले पछिल्लो समय दिएको अभिव्यक्ति भने सन्तुलित र सभ्य नै देखिन्छ । कांग्रेसको आन्तरिक जीवन नै धरमरमा पारेर गरिने विद्रोहले जनतामा नैराश्यता र कार्यकर्तामा पलायनको बाटो नै देखाउनेछ । महामन्त्री पनि पार्टीको जिम्मेवार व्यक्ति हो । सार्वजनिक मञ्चमाट गरिने स्टन्ट भन्दा पार्टी बैठकमा नै गरिने नोकझोकले कांग्रेसलाई थप बलियो बनाउन मद्त गर्छ । यसले देशलाई पनि थप दुर्घटनाबाट जोगाउन सहयो पुग्नेछ । पार्टीभित्रका आन्तरिक लडाईलाई छताछुल्ल पार्नुभन्दा पार्टीभित्रै राफसाफ गर्दै जनतालाई खुशी, विकास, समृद्धि र सुशासन दिनुको विकल्प अब दलहरुसँग छैन ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *