
काठमाडौँ । भारतले नेपाललाई १५ वटा मुर्रा राँगा दिएपछि यसबारे निम्छरो र निम्नस्तरका टिप्पणी हुन थालेका छन् । सार्वभौम संसदमा सांसदहरुले समेत मुर्रा प्रजातिका राँगालाई राजनीतिको विषय बनाउदै किसानको हुर्मत लिने प्रयासलाई तीब्र पारेका छन् । केपी ओलीदेखि शेरबहादुर देउवाको पालामा समेत मुर्रा प्रजातिको राँगा ल्याउने प्रयास थाले पनि अहिले तीनै दलका सांसदहरुले मुर्रा राँगाबारे किसान र समग्र कृषि क्षेत्रलाई नै उपेक्षा गर्ने गरि अभिव्यक्ति दिन थालेका छन् ।
नेपाललाई मुलतः कृषि प्रधान मुलुक ठानिन्छ । परम्परागत र निर्वाहमुखी कृषि पेशा अंगाल्ने किसानहरुले पछिल्लो समय ब्यवसायिक कृषि पेशा अंगाल्दै आएका छन् । हिमाली, उच्च पहाडी र पहाडी क्षेत्रका नागरिकलाई झण्डै तीनदेखि चार महिना पाशुपालनले नै धानेको अवस्था छ । नश्ल सुधार गर्न नसकिँदा ब्यवसायिक पशुपालन गर्दै आएका किसानले उन्नत जातका गाई भैंसी पाउन सकेका छैनन् । जसका कारण किसानको लागत अनुसार दुध तथा दुग्धजन्य पदार्थ उत्पादन हुन सकिरहेको छैन । जसका कारण दैनिक प्रयोग हुने खाद्यान्नदेखि भान्छाका विभिन्न वस्तुहरु आयात गर्नुपर्ने अवस्था छ । नेपालको अर्थतन्त्रमा यसले ठूलो क्षति पुर्याइरहेको छ । तर, कृषि र किसानहरुलाई प्रोत्साहन गर्न भूमिका खेल्नुपर्ने सांसदहरुले नै मुर्रा प्रजातिको राँगामाथि खिसिट्युरीको विषय बनेको छ ।
नेपालको सीमावर्ती क्षेत्रका जिल्लाहरुमा मुर्रा भैंसी रहेको पाइन्छ । ती भैंसीहरु भारतबाट नै लुकिछिपी ल्याउन किसानहरु बाध्य छन् । तर ती भैंसीहरु पनि शत प्रतिशत नै मुर्रा नहुने किसानहरु बताउँछन् । नेपालमा निली, रभि जातका साथैं काठे भैंसीहरु पालन गर्दै आएका छन् । नेपालमा स्थानीय भैंसीलाई मुर्रा राँगोसँग क्रस बर्णशंकर जातका भैंसीहरु उत्पादन हुने गरेका छन् । राम्रो जातको मुर्रा भैंसीहरु पाउन मुश्किल छ । त्यसैले नश्ल सुधार गरी बढी दूध दिने मुर्रा भैंसीको खोजी किसानले गर्दै आएका छन् । त्यसैले सरकारले पनि गाईभैंसीको नश्ल सुधारमा जोड दिँदै आएका छ ।
मुर्रा जातका भैँसी भारतको पन्जाब र हरियाणामा बढी पालिन्छन् । यस किसिमका भैँसीहरू ब्राजिलमा दूध र मासुका लागि प्रयोग गरिन्छन् । यी जातका भैँसीहरूले अन्य भैँसीभन्दा दोब्बर मात्रामा दूध उत्पादन गर्ने भएकाले महँगो मूल्यमा खरिद विक्री हुन्छन् । त्यसैले नश्ल सुधारका लागि यसअघि सन् २०१८ मा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकअनुसार नै नेपाल सरकारले उच्च प्रजनन् मानका ३० वटा मुर्रा राँगो उपलब्ध गराउन भारत सरकारसँग अनुरोध गरेको थियो । सोही माग अनुसार नै हालै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारत सरकारले नेपाललाई नस्ल सुधार तथा प्रजननका लागि १५ वटा मुर्रा राँगा उपहार स्वरूप प्रदान गर्न लागेको हो ।
तर, यहि विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले किसानको उपहास हुने गरी कोकोहोलो मच्चाइरहेका छन् भने सांसदहरुले समेत किसानको भावना र मर्ममाथि नै ठेस पु¥याउने काम गरेका छन् । मुर्रा राँगा नेपाललाई दिन भारत सहमत भएपछि यसबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र एमालेका सांसदहरुले किसानको हुर्मत लिने काम गरेका छन् ।
१५ वटा मुर्रा राँगा नेपाल ल्याएर नस्ल सुधार गर्ने र विर्य उत्पादन केन्द्र नै निर्माण गर्ने विषयले किसानहरुलाई ठूलो राहत हुनेछ । एक भैसीबाट ८/१० लिटर दुध उत्पादन गरिने अवस्थामा किसानले नस्ल सुधार गरेर १५/२० लिटर दुध उत्पादन गर्न सक्छन् भने सांसदहरुले यो विषयलाई किसानको दैलोसम्म पुर्याउने सुनिश्चितता खोज्ने कि हुर्मत लिने ? यो आम प्रश्न बन्न पुगेको छ । सांसदहरुले नस्ल सुधारका लागि भन्दै ल्याइएका मुर्रा जातका राँगालाई किसानको पहुँचमा पुर्याउने विषयमा हुनुपर्ने बहस रिस, आवेग, क्रोध, कुण्ठा र अज्ञानताका कारण गरिने यस्ता टिप्पणीले सांसदहरुको हैसियत समेत प्रष्ट हुने देखिन्छ । नेपालमै दुध उत्पादन गर्ने र मुलुकलाई दुध र मासुमा आत्मनिर्भर बनाउने कुरालाई समेत ख्याल गरेर काम गर्नुपर्नेमा ध्यान दिनैपर्नेछ ।