काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी करका दर परिवर्तन नगरेको बताएका छन् । उनले इमानदार भएका काम गर्दा पनि अपजस खेप्नुपरेकाे गुनासाे समेत गरे ।
सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि त्यसको जवाफ दिँदै उनले यसरी प्रष्टीकरण दिएका हुन् ।
कसैले फाइदा उठाइरहेको ठाउँमा फाइदा उठाउन नपाएर रिसाएर यस्तो प्रचार गरेको हुनसक्ने अर्थमन्त्रीले बताए । उनले आफूले समग्र अर्थतन्त्रलाई केन्द्रबिन्दुमा राखेर हेरेको र कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी काम नगरेको स्पष्ट पारे । इमानदार भएर काम गर्दा हिलो छ्याप्ने हर्कत भएको र कसैले नियोजित रुपमा समाचारहरु लेखिरहेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।
राम्रो काम गर्दा पनि आक्षेप आइलाग्ने हो भने नेपालमा इमानदार मान्छेहरुको काम छैन भनेर घोषणा गरिदिए हुने उनको भनाइ थियो । एकाध मानिसहरुको फाइदाको लागि अर्थमन्त्री र राज्य संयन्त्रले काम गर्न नमिल्ने भन्दै उनले करका दर हेरफेर गर्दा अर्थसचिव, राजश्व सचिव, आन्तरिक राजश्व विभाग प्रमुख, भन्सार प्रमुख र उपसचिव मात्रै बसेर निर्माण गरेको बताए ।



