
मोरङ । कोशी प्रदेश सरकारलाई जसपा र नेकपा माओवादीले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारको संकटमा परेको छ ।
सरकारको समर्थन गरिरहेका दुईवटा पार्टीले समर्थन फिर्ता लिएसंगै ठूला दलको हैसियतले कांग्रेस आफु सरकारको नेतृत्वमा जाने कसरत गरिरहेको छ भने माओवादी केन्द्रले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन प्रयासमा छ ।
कोशी प्रदेशमा अहिले नेकपा एमाले नेतृत्वको सरकार छ । नेकपा माओवादी र जनता समाजवादी जसपा समेतको समर्थनमा बनेको सरकारबाट दुवै पार्टीले हात झिकीसकेका छन् ।
समर्थन गरेका दलले नै साथ छोडेपछि एमाले कोशीमा सरकार पक्षमा टिकिरहने अवस्था छैन ।
माओवादी प्रदेश कमिटीका पदाधिकारी र संसदीय दलका नेता इन्द्र आङवो सहित बसेको बैठकले कोशीप्रदेश सरकालाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गर्दै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको कोशी प्रदेश कमिटिले जानकारी दिएको छ ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाई भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् भने जीवन आचार्यले राजीनामा दिइसकेका छन् ।
प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्क नेम्वाङको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय गरेको छ । कोशी प्रदेश माओवादी केन्द्र संसदीय दलका नेता आङ्बोले आप्mनो दलको नेतृत्वमा सरकार नबने पनि सहकार्य गर्ने बताएका छन् ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
केन्द्रमा समिकरण फेरिएपश्चात केही दिन अघि मात्रै जसपाले समर्थन फिर्ता लिँदै कोशी सरकारबाट बाहिरिएको थियो । जसपा सरकार र माओवादी बाहिरिएपछि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा परेको छ ।
९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६, एकीकृत समाजवादीको ४ र जसपाका एक सिट रहेको छ ।