धर्नामा बसेकालाई भेट्न आउछु भनेका नारायणकाजी खप्तड पुगेपछि… (न्यूज रफ्तार)

धर्नामा बसेकालाई भेट्न आउछु भनेका नारायणकाजी खप्तड पुगेपछि… (न्यूज रफ्तार)

काठमाडौं । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तडमा अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने आश्वासन दिएका छन् ।

खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्ने दाबी गरेका प्रचण्डले यस क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने घोषणा गरेका हुन् ।

आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए ।

उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आफू सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिवद्ध रहेको दाबी गरे ।

प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायत उपस्थित रहेका थिए। रामदेव पश्चिमी सीमा नाका
गड्डाचौकी भएर धनगढीबाट हेलिकप्टरमा खप्तड पुगेको बताइएको छ ।

अर्थमन्त्रीले कसम नखाएको भन्दै ओलीले गाँजा खेतिबारे उठाए गम्भीर प्रश्न

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अर्थमन्त्री डाक्टर प्रकाशशरण महतसँग कसम खाने बानी नभएको भन्दै व्यङ्ग्य कसेका छन् ।

कसम खानेहरु खतरा हुने दाबी गरेका ओलीले सवारी भित्रिने कुरा सामान्य भएपनि करको दरबारे निर्णय कस्तो आउँदैछ भन्ने सुचनाका आधारमा व्यापारीहरुले सामान आयात गर्ने बताएका छन् । उत्पादक मुलुकमा पर्ने मूल्य एउटै भएपनि करका दर के हुँदैछन भन्ने विषयले व्यापारीले काम गर्ने जिकिर गरेका छन् । कर घट्ने भए सीमापारि नै राख्ने र बढ्ने भए छिटोछिटो सवारी भित्रिने बताएका ओलीले अर्थमन्त्रीमाथि गम्भीर प्रश्न उठाएका छन् ।

एक हजार एस सय भन्दा बढि गाडी एक दिनअघि भित्रिएको भन्दै त्यसले संका जन्माएको ओलीको भनाई थियो । यस्तै, गाँजा खेतिबारे बजेटमा उल्लेख गरिएको विषयमा समेत ओलीले प्रश्न उठाएका छन् ।

गाँजा खेति गर्ने विषय बजेटमा समेट्नु राम्रो कुरा नभएको ओलीको दाबी थियो । बजेट प्रस्तुति नै शुद्ध किन हुन सक्दैन भन्ने प्रश्न उठाएका ओलीले सबै क्षेत्रमा विचौया पस्ने विषय गम्भीर हुने बताएका छन् । उनले यस्ता विषयलाई नियन्त्रणमा लिनैपर्ने उनको तर्क छ ।

स्वार्थका कारण करको दरबारे गलत समाचार बाहिरिएः अर्थमन्त्री महत

अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको बताएका छन् । प्रतिनिधिसभामा उठेका विषयमा स्पष्टीकरण दिँदै मन्त्री महतले आफू इमान्दारितामा एक इन्च पनि नहल्लिएको दाबी गरेका छन् ।

उनले इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ भन्ने अहिले देखिएको बताए । साना इलेक्ट्रोनिक सवारीको करको दरमा भएको हेरफेरमा समेत उनले प्रष्टीकरण दिएका छन् ।

व्यापारीले साना सवारीमा राज्यबाट लाभ उठाउने र ग्राहकले नपाउने भएका कारण पनि करको दर हेरफेर व्यापारिक घरानाको प्रभावमा नपरेको उनले दाबी गरेका छन् । संसदमा एमाले, रास्वपा र राप्रपाले करका दर हेरफेरबाट जवाफ मागेका छन् । तर, व्यापारीले करको दर हेरफेर हुने विषयको सम्भावित परिदृश्यका कारण सवारी खरिद गरेको हुन सक्ने दाबी गरेका उनले राजस्व धेरै उठ्नेमा समेत विश्वास लिएको महतले जिकिर गरेका छन ।

व्यापारीको स्वार्थमा समाचार बाहिरिएको आरोप लगाउदै उनले आफूले कुनै गल्ति नगरेको दोहो-याएका छन् ।

नेपाल एयरलाइन्सको नलिखुट्टाको मासी चुसेर खाइसकेका रहेछन्ः किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सको जहाजको नलिखुट्टाको मासी समेत चुसेर खाइसकेको दाबी गरेका छन् । मंगलबार काठमाडौंको एक कार्यक्रममा बोल्दै उनले आफू मन्त्री हुँदा जहाज भेन्टिलेटरमा रहको बताएका छन् ।

उनले नेताको कमाउने, खाने, पिउने र रमाउने ठाउँ पनि नेपाल एयरलाइन्स बन्न पुगेको मन्त्रि किरातिको भनाई छ । ’मन्त्रीले त खायो खायो ।

साँढुदाइ, साँढुभाइ, साली, मितबाउ, मित जम्मैले खानुपर्ने । एउटा सीईयो नियुक्ति गर्दा करोडौँ लिएपछि त्यसले बिजनेस प्लान बनाउँछ कि कमाउन लाग्छ ?’, मन्त्री किरातिले भनेका छन् ।

मन्त्री बन्नु भनेको भुतसँग संगत गर्नु रहेको दाबी गरेका किरातिले घुस खानको लागि जान्नुन नपर्ने र गुरुहरु आफै सिकाउन आउने जिकिर गरे । तीनवटा जहाज किन्ने तयारीमा रहेपनि आफू अहिले विभिन्न घेराबन्दीमा रहेको उनको तर्क छ ।

कोशीमा माओवादी सरकारबाट बाहिरियो, मुख्यमन्त्री अल्पमतमा

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा परेका हुन् । सरकारबाट बाहिरिएको माओवादीले अब आफ्नै दलको नेतालाई मुख्यमन्त्री प्रस्ताव गर्ने निर्णय समेत गरेको छ ।

यसअघि जनता समाजवादी पार्टी (जसपा) कोशी सरकारबाट बाहिरिएको थियो । एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीको समर्थनमा गत पुस २४ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

देशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कोशीमा माओवादीका तर्फबाट मन्त्री रहेका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

कोशीमा कांग्रेसको पनि सरकारमा दाबी

नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । काग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले बताएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । अब केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् ।

माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गरेको छ । यद्यपि सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्ने बताएको छ ।

शरणार्थी प्रकरणः सरकारी वकिलको बहस सकियो

नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारी वकिलको बहस मंगलबार सकिएको छ । अभियोजनकर्ता सरकारी वकिलका तर्फबाट सातजनाले बहस गरेका छन् । गएको आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

सरकारी वकिलको बहस सकिएपछि जाहेरवालाका तर्फको समेत बहस सकिएको छ । अब पक्राउ परेका अभियुक्तका कानुन व्यवसायीले वुधबारदेखि जेठ ३० गतेसम्म बहस गर्नेछन् । न्यायाधीश प्रेसप्रसाद न्यौपानेले उनीहरूलाई आउँदो मंगलबारसम्म बहस गर्ने समय दिएका छन् । त्यसपछि जेठ ३१ गते सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

जवाफी बहस सकिएमा उक्त दिन नै थुनछेक आदेश आउनेछ । त्यसक्रममा अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामै राख्ने वा धरौटीमा छाड्ने आदेश हुनेछ ।

धर्नामा बसेकालाई भेट्न आउछु भनेका नारायणकाजी खप्तड पुगेपछि…

पर्साको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने भन्दै धर्नामा बसेकाहरुको माग सम्बोधन गर्न मंगलबाट भेट्न आउने वचन दिएका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आध्यात्मिक सम्मेलनमा भाग लिन खप्तड पुगेका छन् ।

बाबा रामदेवले खप्तडमा योग शिविर आयोजना गरेका छन् । ११ दिनदेखि धर्नामा बसेका आन्दोलनकारीको माग सम्बोधनको वचन दिएका मन्त्री श्रेष्ठ माइतिघर नआई खप्तड पुगेपछि आन्दोलनकारिहरु निराश भएका छन् ।

सरकारले आफ्ना माग पुरा गर्ने आश्वासन पाएपछि खुशी भएको बताएका थिए तर, मन्त्री ११ बजे आउँछु भनेपनि खप्तड पुगेपछि भने अब के हुन्छ भन्ने खुलेको छैन् ।

११ दिनदेखि धर्ना बसे पनि सरकार आफूहरूको मागप्रति गम्भीर नभएको आरोप लगाउँदै आन्दोलनकारीहरुले माइतीघरमा धर्ना बसेकै दिन उद्योग मन्त्री रमेश रिजाल आएर आन्दोलनप्रति ऐक्यबद्धता जनाए पनि अहिले बेवास्ता गरेको आरोप लगाउदै आएका छन् ।

आफूहरूको माग पुरा नभएसम्म माइतीघरबाट नफर्किने आन्दोलनकारीहरुले बताएका छन् ।

पोखरा विमान दुर्घटनाः क्षतिपूर्ति हकदाबी गर्न अनुरोध

पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारका आफन्तलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी गरेको छ ।

१ माघ २०७९ मा भएको उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएको र सो निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न सूचनामा भनिएको छ ।

कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि आएका निवेदनमा एयरलाइन्सले तोकेका कानुनी व्यवसायीको कार्यालय प्रधान एण्ड एसोसियट्स प्रालि बखुण्डोलले प्रदान गर्ने भन्दै एयरलाइन्सले क्षतिपूर्तिमा दाबी विरोधका लागि ३५ दिन भित्र सम्पर्क गर्न भनेको हो ।

१ माघ २०७९ मा काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज दुर्घटनामा परेको थियो ।

सुनकोशीमा खसेको गाडी र दुई शव भेटिए

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिनमा नदीको वहाव नै तर्काएपछि बल्ल फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएका छन् ।

सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेपछि वखस्था अज्ञात रहेको थियो ।

गाडी सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको इन्सपेक्टर सुवास थापाको कमान्डमा रहेको गोताखोरसहितको टोलीले खोजिरहेको थियो । तर फेला पार्न नसकेपछि सुनकोशीको पानीको भंगालोलाई नै अर्कोतिर पठाएर खोजी गरेयो ।

त्यसपछि गाडीसँगै २ वटा शव फेला परेको जानकारी आएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् । दुई शव भेटिएपनि सनाखत हुन बाँकी रहेको बताइएको छ ।

भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इला

मका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार रहेको बताइएको छ । गाडी चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर निस्किएका थिए ।

नीजि विद्यालयलाई काठमाडौं महानगरको चेतावनी, अब के ?

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण नबुझाउने ३ सय ४२ निजी विद्यालयको सूची मंगलबार सार्वजनिक गरेको छ ।

महानगरको शिक्षा विभागले कक्षा १० सम्मका विद्यार्थीलाई जेठ १५ गतेसम्म छात्रवृत्ति वितरण गरी सो को विवरण १६ गतेभित्र पेस गर्न सूचित गरेको थियो ।

उक्त अवधिमा छात्रवृत्तिको विवरण नबुझाउने ३ सय ४२ वटा विद्यालयको नाम गोरखापत्र दैनिकमा प्रकाशित गरिएको विभागले जनाएको छ ।

काठमाडौं महानगरभित्र ५२० निजी विद्यालय सञ्चालनमा रहेका छन् । ती विद्यालयलाई जेठ २८ गते भित्र छात्रवृत्ति वितरण गरी विवरण पेस गर्न पुनः म्याद दिइएको छ ।

सूचनामा उक्त अवधिमा पनि विवरण पेस नगर्ने विद्यालयको अनुमति÷स्वीकृति रद्द वा कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

शिक्षा नियमावली २०५९ र महानगरको शिक्षा ऐन २०७५ र नियमावलीमा निजी विद्यालयमा अध्ययनरतमध्ये निश्चित प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ । ऐनमा भएको व्यवस्था पालना नगरे विद्यालयको स्वीकृति÷अनुमतिसमेत रद्द गर्न सकिने कानुनी प्रबन्ध छ ।

पहिलो सिजनमै चर्च ब्वाइज बन्यो लिग च्याम्पियन

चर्च ब्वाइज युनाइटेड पहिलो सिजनमै शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ । मंगलबार दशरथ रंगशालामा थ्रीस्टारसँग गोलरहित बराबरी खेलेपछि चर्च ब्वाइजले लिगको एक खेल अगावै उपाधि जितेको हो ।

चर्च ब्वाइजले एक चरणको खेल बाँकी छँदै डेब्यु सिजनमै मंगलबार सहिद स्मारक लिग ए डिभिजनको उपाधि जितेको हो ।

चर्च ब्वाइज नेपाली माथिल्लो डिभिजनको उपाधि जित्ने १६ औं टिम भएको छ । उसले २०११ सालदेखि सुरु भएको प्रतियोगिताको ४४ औं संस्करण जितेको हो ।

यससँगै दुई पल्टको डिफेन्डिङ मछिन्द्र उपाधि रक्षा गर्न असफल रह्यो । चर्च ब्वाइजले भने क्लब स्थापनाको १४ वर्षपछि नेपाली फुटबलको माथिल्लो डिभिजनको उपाधि जितेको हो । चर्च ब्वाइजले वर्ष ०७७ सी डिभिजनको छनोट पार गरेको थियो ।

त्यही वर्ष उसले सी डिभिजन पनि जित्यो । वर्ष ०७८ मा चर्च ब्वाइजले बी डिभिजन जित्न सफल रह्यो ।

मनाङ मर्स्याङ्दीपछि चर्च ब्वाइजले सी देखि ए डिभिजन जित्ने पहिलो टिम बनेको छ । यसअघि मनाङ मस्र्याङ्दी क्लबले डी देखि ए डिभिजनसम्म लगातार च्याम्पियन बनेर इतिहास बनाएको थियो ।

२०३९ देखि २०४३ सालसम्म मानङ डी, सी, बी र ए डिभिजन च्याम्पियन बनेको थियो ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *