काठमाडौं । राजनीतिक स्थिरता खोज्ने दल र दलका शीर्ष नेताहरु आफै अस्थिर बनिदिँदा राजनीति मात्रै नभएर समाज नै भड्किलो र असभ्य बन्दै गएको टिप्पणी पछिल्लो समय सुनिन थालेको छ ।
राजनीति गठबन्धन र आश्रयको भरमा चल्न थालेपनि यसले जनताका आकांक्षालाई पुरा गर्न नसकेको प्रष्ट देखिन्छ । तर, नैतिकता इमान्दारिता र अनुशासनको पाठ सिकाउनेहरु नै किन यसरी असभ्य बन्दैछन ?
जनताले छानेर पठाएका संसदहरु अमर्यादीत बनेको विषय नयाँ होइन । सांसदहरु अमर्यादीत बनेपनि दलीय प्रणालीमा दलले उनीहरुलाई अनुशासन र नैतिकताको कसीमा राख्छ भन्ने विश्वास गरिन्छ ।
यस्तो विश्वासमाथि दलका शीर्ष नेताहरुले नै छरपष्ट वक्तव्य दिदा भने राजनीति र दलहरुमाथिको आक्रोश थप चुलिदो छ ।
सरकारले ल्याएको बजेटमाथि संघीय संसदमा छलफल जारी छ । बजेटमाथि छलफलको क्रममा विभिन्न कोणबाट आलोचना समर्थन हुनु स्वभाविक पनि हो । तर, आफ्नो पार्टीलाई गठबन्धनमा समावेश गराउने र सरकारमा पनि सहभागी भएर त्यहि सरकारको उछितो काढ्नु कत्तिको स्वभाविक ?
यो आम प्रश्न बन्न पुगेको छ । अष्ट्रेलियाबाट फर्किएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले बजेटबारे खरो टिप्पणी गरे ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, अर्थमन्त्री डा. प्रकाशशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन जिल्लामा बजेट केन्द्रित रहेको भन्दै सस्तो र लोकप्रिय सुनिने टिप्पणी गरे ।
बजेट कुन जिल्लामा के प्राथमिकताको आधारमा गयो भन्ने विषयमाथि संसदमै छलफल जारी छ । माधवलाई के आपत्ति आइलाग्यो र उनले विमानस्थलबाटै आफूलाई सञ्चारमाध्यमको केन्द्रमा राख्न चाहे ? यो अनौठो प्रश्न बन्न पुगेको छ ।
माधव नेपालले संसदमा बोल्न चाहेमा समय उपलब्ध नहुने विषय देखिन्न । उनले यहि विषय संसदमा राखेको भए त्यसको प्रभाव छुट्टै पर्न सक्थ्यो ।
यसरी नै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सरकार र बजेटको आलोचना गरे ।
संसदमा उनले बजेटले मधेसलाई उपेक्षा गरेको भन्दै फेरि मधेसको भक्तिगान गाएजस्तो गरि विषय प्रवेश गराए । तर, उपेन्द्रले यो विषयमा कुरा उठाएपछि उनलाई गौर प्रकरणसँग जोडेर हेर्न थालिएको छ ।
सर्वोच्चमा गौर प्रकरणको प्रवेश र तत्कालीन समयमा माओवादी कार्यकर्या कै हत्या भएकाले पनि उपेन्द्रले माओवादी केन्द्रको इसारामै मुद्दा सर्वोच्च प्रवेश गरेको ठानेको अर्थमा लिइएको छ ।
यद्यपि उपेन्द्रले मधेसलाई बजेटले उपेक्षा गरेको विषय उठाउनु स्बभाविक भएपनि उनको संसद यात्रालाई अहिलेसम्म केहिले सहज रुपमा लिन सकेका छैनन् । उपेन्द्र अधैर्य किन बनेको भन्दै प्रश्न समेत गर्न थालिएको छ ।
माधव र उपेन्द्र देखिएका पात्र भएपनि राजनीति जस्तै नेताहरु अस्थिर बन्दै गएका छन् । यसले दलीय राजनीति मात्रे नभई सिंगो मुलुकको अवस्थालाई नै खलबल बनाएको तथ्य लुकेको छैन् ।
दल, नेता र जनताबीचको सम्बन्ध स्थापित गर्दै राजनीतिलाई स्थिरतातर्फ लैजाने बेला भएन र ?