काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको निर्वाचनअघि काठमाडौंबासीसँग भोट माग्दै गर्दा मेयरले सीईओको काम गर्ने भएकाले आफू उम्मेदवार बनेको बताएका थिए ।
ठूला राजनीतिक दलहरुको गठबन्धनलाई समेत हराएर स्वतन्त्र उम्मेदवार शाह मेयरमा निर्वाचित भए । स्वतन्त्रबाट निर्वाचित शाह ठूला दलको घेराबन्दीका कारण काम गर्न नसक्ने विश्लेषण भइरहेका थिए । तर उनले राजनीतिक घेराबन्दीलाई तोडेर महानगरलाई समृद्ध बनाउने अभियान जारी राखे । पछिल्लो समय मेयर शाह राष्ट्रियताको मामिलामा पनि क्रान्तिकारी भएर निस्किएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते दिल्ली भ्रमणमा जानका लागि ब्रिफकेश तयार पार्दै थिए । प्रधानमन्त्री प्रचण्डको दिल्ली जानुअघि भारतको नवनिर्मित संसद भवनमा नेपाली भूमि समेत समेटिएको अखण्ड भारतको मुराल नक्साबारे सार्वजनिक भयो ।
भारतको मुराल नक्सामा गौतमबुद्ध जन्मस्थल लुम्बिनीदेखि कपिलवस्त जिल्ला समेत समेटिएको छ । नेपालको ऐतिहासिक भूमि मात्र होइन, पाकिस्तान, बंगलादेश र अफगानिस्तानका भूमिसमेत संसद भवनमा रहेको अखण्ड भारतको नक्सामा छ ।
नेपाली भूमि समेत समेटेर भारतले संसदमा राखेको नक्साबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न राजनीतिक दलहरुले प्रधानमन्त्रीलाई सुझाएका थिए । तर प्रधानमन्त्री प्रचण्ड दिल्लीसँगको सम्बन्ध बिग्रिने आशंकामा यो विषयमा मौन रहे । दिल्लीबाट फर्किएपछि प्रधानमन्त्रीको यो विषयमा आलोचना भइरहेको छ ।
यहि विषय सडकमा मात्र होइन, सदनमा पनि तातेको छ । राजनीतिक दलका नेताहरुले भारतीय प्रवृत्तिको विरोध गरिरहेका छन् ।
उनीहरुले भारतले नक्सा नहटाएमा ग्रेटर नेपालको नक्सा नेपालको नयाँ संसद भवनमा राख्नुपर्ने तर्क गरिरहेका छन् । तर राजनीतिक दलहरु भन्दा एक कदम अगाडि बढेर आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिदिएका छन् ।
यता, सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा पनि सडकदेखि सदनसम्म नै राष्ट्रियताबारे चर्को वकालत गरिरहेका छन् ।
विहीबार मात्रै मोरङको विराटनगर पुगेका थापाले भारतलाई जवाफ दिन नेपालको सरकारी भवनहरुमा ग्रेटर नेपालको नक्सा राखिनुपर्ने आशय ब्यक्त गरे ।
भारतले कब्जा जमाउँदै आएको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको विकल्पबारे बहस चलाइरहेकाबेला कांग्रेस महामन्त्री थापाले भने नेपाली भूमिको विकल्प हुन नसक्ने बताए ।
नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले बंगलादेशसम्मको बाटो पाउनु अन्तर्राष्ट्रिय अधिकार भएको भन्दै उनले यसमा नेपालले कुनै सम्झौता गर्न आवश्यक नरहेको उल्लेख गरे ।
राजनीतिक स्वार्थका लागि राजनीतिक दलका नेताहरुले राष्ट्रियताबारे चर्का कुरा गरे पनि शक्ति राष्ट्रहरुसँग चुईँक्क बोल्न सक्दैनन् भन्ने कुरा प्रधानमन्त्री प्रचण्डको पछिल्लो दिल्ली भ्रमणले पुष्टि गरिसकेको छ ।
त्यसैले यी दलका नेताहरु भन्दा स्वतन्त्र बालेन शाह निडर क्रान्तिकारी देखिएका छन् । उनले जस्तै आँट अरु कुनै नेताहरुले पनि देखाउन, तब मात्रै नागरिकले प्रशंसा गर्नेछन् ।