नारायणगढ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् ।
नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल)को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन् ।
आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए। उनले भने, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।”
नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उनले थपे, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए। उनले भने, “रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन् ।”
प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उनले भने, “यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।” आपूm पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताए। कानून व्यवसायी पेशा मर्यादित भएको उनको भनाइ थियो ।
बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उनले भने, “बिपी कोइराला पार्टीमा कानून व्यवसायी (लयर) हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ।” अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताए।