काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुँइक्क पनि बोल्न नसकेको बताएका छन् ।
मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो । शनिबार काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै उनले वर्तमान सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दुर्भाग्य भएको बताएका छन् ।
ओलीले देशका दुर्दिन सुरु हुनु युक्रेन युद्धको कारणले हो त ? भनी सरकारमाथि कटाक्ष समेत गरे । प्रधानमन्त्री दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको उनकाे भनाइ छ । वर्तमान सरकारसँग विकासको कुनै पनि योजना नभएको जिकीर गर्दै अध्यक्ष ओलीले यस्तो सरकार भएपछि मुलुकमा ग्रहण लाग्नु स्वाभाविक भएको बताए ।
‘देशलाई नै ग्रहण लागेको जस्तो भएको छ । यी दुई वर्षमा ८ प्रतिशत पुर्याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ । भनेको प्रतिवद्धता, यी कमिटमेन्ट, योजना केही पनि २५ प्रतिशत पनि मिलेन । देश त्यति नराम्ररी देश पछाडि परेको छ,’ उनले भने, ‘सरदर ६ दशमलव ५ पुगीसकेको उत्पादन वृद्धिदर हामीले त ७ दशमलव १ प्रतिशत पुर्याएका थियौं । सरदर नै भन्ने हो भने पनि हामीले ६ दशमलव १ प्रतिशत उत्पादन वृद्धि पु¥याएका थियौं । त्यो घटेर २ भन्दा तल आईसक्यो । अहिले कोभिडसोभिडको मारले यस्तो भएको होइन । अनि युक्रेनको वार भनेर एउटा हल्ला चलाउने गरिएको छ । युक्रेनको वारले हामीलाई धुवा उडाएको कि, धुलो उडाएको कि, के गर्या छ ? युक्रेनको वारले हो ? अस्ति हाम्रा नदीहरु प्रचण्डजीले सित्तैमा दिएर आएको हाेइन ? आफ्नो भूमिको बारेमा चुइँक्क बोल्न नसकेको युक्रेनको वारले हो ? १५ वटा राँगा ल्याएँ भनेर त्यही पनि रागा लिएर आउने भनेर जिस्क्याए रे । यो त केपी ओलीकै पालादेखि कुरा चलेको रहेछ भनेर भनियो । उहाँहरुले त कुनै कुरै चलाउन सक्नुहुन्न । सबै कुरा त्यहाँ संयुक्त चेकजाँच पोष्टको कुरा गर्नु भएको छ । त्यो मेरै पालामा हो । भैरहवा बनिसकेको छ । वीरगंज बनिसकेको छ । विराटनगर बनिसकेको छ । अरु ठाउँमा नयाँ बन्दै जाने कुरा हो । त्यो पहिले नै तयार छ ।’
आफै २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ, कुदीरहेको नदीमै बाँध नबाँधीकन ४८० मेघावाट कुदेको नदीबाट विद्युत निकाल्न सकिन्छ, त्यति सस्तो आयोजना नेपाल आफैले बनाउँछ भनेर निर्णय गरेको समेत उनले सुनाए । उनले भने, ‘यो त अहिले त्यै किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो । प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ ? यत्तिकै भएको होइन यो । नेपालको दशा बिग्रिएकै हो । नेपालमा दूर्दिन छाएकै हो । नेपालको भूमिमा ग्रहण लागेकै हो । यस्तायस्ता सरकार बनेका छन । जसले देशको बारेमा चुईक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिरमर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो प¥यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरु बन्नु भएको देशको दूर्भाग्य हो । विकासको योजना छैन, सोच छैन । अव यिनीहरुले के देख्छन भन्दा, उनीहरुलाई छटपटी के हुन्छ भन्दा जेमा पनि एमालेको विरोध एमाले अगाडि बढ्यो । म भन्न चाहन्छु–एमालेलाई कहीँकतै कसैले कुनै हिसावले पनि कमजोर पार्न सक्दैन । पछाडि धकेल्न सक्दैन । पार्टी फुटाएर, सरकारबाट ढालेर अनेक गर्दा पनि एमाले फेरी जस्ताको तस्तै छ । आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनु पर्छ यस देशका लागि । यस देशको सुन्दर भविष्यका लागि, हाम्रा सन्ततिका लागि ।’
ओलीले कर्मचारीहरुलाई मुस्कानसहितको जनसेवाका काममा जुट्न पनि पटकपटक आग्रह गरे । उनले जनसेवाको काममा लागेर मात्रै देशलाई अघि बढाउन सकिने पनि स्मरण गराए ।