काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् ।
शनिबार नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको बताए ।
सरकारले ल्याएको बजेट र नीतिबारे जानकारी गराउँदै उनले विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएको बताए ।
प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए । भारत भ्रमणको प्रशंग जोड्दै प्रचण्डले भने, ‘‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमा समस्या सम्बोधन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउनुभएको छ, यो ठूलो कुरा हो ।
यो सिंगो राष्ट्रका लागि गौरवको विषय हो । २६ वर्षदेखि रोकिएको पञ्चेश्वर परियोजना ३ महिनाभित्र अगाडि बढाउने सहमति भएको छ। १० वर्षमा १० हजार विद्युत निर्यात गर्नेगरि सम्झौता भएको छ ।
वैकल्पिक हवाइमार्गका लागि सकारात्मक छलफल भएको छ। अन्य महत्वपूर्ण परियोजनामा पनि सहमति भएको छ। यो देशका लागि दूरगामी महत्वको उपलब्धि हो।’’
गठबन्धनका कारण पार्टी ठूलो भएको हो : देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन निर्देशन दिएका छन् ।
कांग्रेसभित्र देउवाले एकलौटी गरेको भन्दै उनीविरुद्ध मोर्चावन्दी नै भइरहेको बेला देउवाले भने नेता कार्यकर्तालाई एकतावद्ध भएर काममा लाग्न निर्देशन दिएका हुन् ।
सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिवद्ध रहेको समेत बताए । प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने उनले जिकीर गरे ।
देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान संचालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।
उनले पार्टी ठूलो बन्नुमा गठबन्धन पनि कारण रहेको जिकिर समेत गरेका छन् । पार्टीमा केहि कुराहरु उठेको दाबी गरेका देउवाले कुरा उठ्नु सामान्य भएपनि एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
भारतलाई नेपालका नदी कौडीको भाउमा बेचियोः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणको क्रममा चुईँक्क बोल्न नसकेको भन्दै भ्रमण उपलब्धिहीन भएको टिप्पणी गरेका छन् ।
भारत भ्रमणमा आफ्नो अतिक्रमित भूमिको बारेमा चुइँक्क बोल्न नसकेको भन्दै ओलीले प्रचण्डलाई प्रश्न पनि गरेका छन् । देश नै ग्रहण लागेको अवस्थामा पुगेको भन्दै ओलीले सरकारले साढे ६ प्रतिशत रहेको उत्पादन वृद्धिदर २ प्रतिशतभन्दा कम हुनुमा सरकारले युक्रेनको वार देखाइरहेको आरोप लगाए ।
यस्तै, नेपालका नदी भारतलाई कुन आधारमा दिइएको भनेर भन्न नसकेकाले शंका गर्ने ठाउँ रहेको ओलीको भनाई छ ।
सरकारले जनतालाई कुन सर्तमा यस्ता सम्झौता भएको हो भन्ने कुराको जानकारी दिनुपर्ने उनको तर्क छ । नेपालका नदीहरू भारतलाई कौडीको भाउमा बेचेको ओलीको आरोप छ ।
सत्ता टिकाउन रेशमलाई आममाफी : शेखर कोइराला
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको गम्भीर आरोप लगाएका छन् ।
दण्डहिनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरित चौंधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोश पोखेका छन् ।
शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातराख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए ।
निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरुले विरोध गर्नु परेको उनको तर्क थियो ।
घेरावन्दी भयो भन्दै जंगिए रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हाँसिल गर्ने अवस्था देखिएपछि त्यसमा बाधा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए । रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरुले घेराबन्दी गरिरहेको उनले बताए ।
यसरी दलहरुले घेराबन्दी गर्दैमा आफु र आफ्नो पार्टी नडराउने उनको भनाई छ । उनले नागरिकता विधेयकका बारेमा समेत बोलेका छन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको उनको ठहर छ ।
रविले नागरिकता विधेयक प्रमाणीकरणको विपक्षमा रहेको समेत बताए । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको उनको भनाई छ ।
वैवाहीक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहेपनि संसदमा नलगिकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको उनले बताए ।
आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको उनको भनाई छ ।
स्वर्णिमले खोेजे सुरुङ युग
प्रतिनिधि सभा सांसद डा. स्वर्णिम वाग्लेले अब हाम्रो देश सुरुङ युगमा जानु पर्ने बताएका छन् । शनिबार नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्दै रास्वपाबाट प्रतिनिधि सभा सांसद बनेका डा. स्वर्णिमले यस्तो बताएका हुन् ।
आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पु¥याउने भएकोले यसको महत्व भएको र सुरुङ मार्गले विकासको व्यवस्थापन समेत गर्ने उनको भनाई छ ।
समयको बचत हुने, ध्वनी प्रदूषण कम गर्ने र मार्गको दूरी समेत घट्ने हुँदा इन्धनको पनि बचत हुने भएकाले अब सुरुङ प्रविधिमै जोड दिनु पर्ने उनले बताए ।
नागढुंगा सुरुङ मार्ग पाइलट प्रोजेक्टको रुपमै रहेको बताउँदै उनले यसबाट शिक्षा लिनु पर्ने बताए । यो मार्गको निर्माण समयमै सम्पन गर्न आफूहरूले भूमिका खेल्ने उनको प्रतिबद्धता छ ।
भारत भ्रमण उपलब्धिमुलक भएन– लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पने काम गरेको आरोप लगाएका छन् ।
अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्शा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको भन्दै आपत्ति जनाए ।
पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देश संकटमा परेको जिकीर गर्दै त्यसको सुरक्षाका लागि आन्दोलनमा आउन पनि भूतपूर्व सैनिकहरुलाई आह्वान गरे ।
यस्तै उनले राजसंस्था, हिन्दु राष्ट्रको पुनस्र्थापना र संघीयताको खारेज गर्न चाहने हरेक नेपालीको पार्टी भनेकै राष्ट्रिय प्रजातन्त्र पार्टी भएको दावी गरे ।
उनले देश संकटमा पर्दा, हिन्दु धर्म संकटमा पर्दा भूतपूर्व सैनिकहरुले चुप लागेर बस्न नमिल्ने समेत बताए ।
सीके फेरि अन्दोलनको बाटोमा !
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको बताएका छन् । उनले मधेसको अधिकारकालागि आन्दोलन गर्न तयार रहन कार्यकर्तालाई निर्देशन नै दिएका छन् ।
पर्सामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष राउतले मधेस आन्दोलनको माग २२ वटा जिल्लालाई एउटै बनाउने रहेको तर आठ वटा जिल्लामा सीमित भएको भन्दै आन्दोलनको आवश्यकता रहेको बताए ।
उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, अहिले नागरिकताको समस्या समाधान भएको भनिन्छ तर त्यो पनि कार्यान्वयन हुन्छ कि हुँदैन भने ठेगान छैन ।
त्यसैले आन्दोलन गर्न आवश्यक छ ।’ जनमत पार्टी सांसद र मन्त्री बन्न र बनाउनका लागि आएको पार्टी नभएको समेत उनले बताए ।
नवलपुरमा गर्मीको ‘रेकर्ड ब्रेक’, जनजीवन अस्तव्यस्त
गर्मी बढ्दै गर्दा मध्य नेपालमा पर्ने तराईको जिल्ला नवलपुरले दिनदिनै तापक्रममा नयाँ ‘रकर्ड’ बनाइरहेको छ ।
विगतमा नेपालगञ्ज, वीरगञ्ज, धनगढीलगायत सहरको तापक्रम देशकै सबैभन्दा बढी मापन गरिएको भए पनि यसवर्ष नवलपुरले उच्च तापक्रममा नयाँनयाँ ‘रेकर्ड’ बनाइरहेको हो ।
जल तथा मौसम विज्ञान विभागले हरेक २४ घण्टामा सार्वजनिक गर्ने देशको उच्च तापक्रममा नवलपुरको दुम्कौलीले दिनदिनै नयाँ रेकर्ड बनाउँदै आएको हो ।
नवलपुरमा जेठ २४ र २५ गते ४३ दशमलव आठ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । नवलपुरले उच्च तापक्रमको आफ्नो रेकर्ड पुनःब्रेक गरेको छ । जेठ २६ गते यहाँको तापक्रम ४४ डिग्री सेल्सियस पुग्यो ।
विभागले हरेक २४ घण्टामा देशभरको उच्च तापक्रम सार्वजनिक गर्दै आएको छ । नवलपुरको तापक्रम वृद्धि भएर तराईका अन्य जिल्लालाई माथ दिइरहँदा यहाँको जनजीवन प्रभावित भएको छ ।
मिटरब्याजीविरुद्ध हजारौं उजुरी
मधेस प्रदेशका ८ वटा जिल्लामा मिटरब्याजी विरुद्ध १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका हुन् ।
गृह मन्त्रालय दिएको तथ्यांकअनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेका छन् । जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् ।
कूल उजुरीमध्ये १३९ वटा छलफलमा रहेका छन् भने १२६ वटा मिलापत्र भएका छन् । धनुषा र सप्तरीमा २ जनाविरुद्ध मुद्दा दर्ता पनि गरिएको छ । यस्तै, ३ जना पुरुष र ४ जना महिला पक्राउ पनि परको छन् ।
अझै १५ हजार ९६१ मुद्दा फर्स्योट हुन बाँकी रहेको छ । सरकारले गत वैशाख १७ गते आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरेको थियो ।
नयाँ नियम बुझ्न राजदूत बोलाउँदै मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउदी राजदूतलाई बोलाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारका शैक्षिक प्रमाणपत्र अनिवार्य गरिएकोबारे बुझ्न साउदी राजदूत साद अबुहैमेदलाई मन्त्रालयले बोलाएको हो ।
नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रयोजनको लागि शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको छ । भिसाबारे जानकारी सहज हुने भन्दै दूतावासले शैक्षिक प्रमाणपत्र अनिवार्य गरेको हो ।
दूतावासको उक्त निर्णयप्रति नेपालमा चर्को विरोध भइरहेको छ । व्यवसायीहरूले श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
दुवै मन्त्रालयले कुटनीतिक पहलबाट उक्त निर्णय कार्यान्वयन नगराउन प्रयत्न थालेका छन् ।
जिल्ला अस्पतालमै खानेपानीको अभाव
जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो ।
जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका–१ को जिरोप्वाइन्ट रहेको मुहानबाट खानेपानीको आपूर्ति गरिँदै आएको थियो । जिरोप्वाइन्टमा आफ्नै खानेपानी ट्याङ्की रहेको र त्यसलाई घेरबार गरेर राखेका अवस्थामा अनधिकृतरुपमा केही व्यक्तिले ट्याङ्कीमा आफ्ना निजी पाइप जोडेर लगेका कारणले जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा सङ्केत विश्वकर्माले बताएका छन् ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा खानेपानीको अभाव भएपछि अस्पतालले अनाधिकृत पाइपहरु हटाउन आग्रह गरेको छ । गर्मी बढेसँगै देखिएको खानेपानी अभावका कारण उपचार प्रक्रियमै समस्या सिर्जना भएको बताइएको छ ।