उपेन्द्र–सीके टक्करले मधेस रणभूमि !

काठमाडौं । मधेस केन्द्रित दलहरु अस्थित्व रक्षा र आफ्नो प्रभुत्व कायम गर्ने विषयमा मात्रै केन्द्रित बनिरहेको आरोप पेचिलो बनिरहेको छ ।

एकताभन्दा पनि छुट्टै पार्टी स्थापना गर्ने र शक्ति आर्जन गर्ने उनीहरुको ध्याउन्नका कारण पनि मधेस राजनीतिक रणभूमी बनेको विश्लेषण हुने गरेको छ ।

यस्तै प्रवृतिको निरन्तरता हो पछिल्लो समय जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्य प्रतिष्पर्धा देखिने खतरा । जसले उनीहरुबीच प्रतिशोधको लडाईलाई तीव्रता दिएको छ ।

उपेन्द्र यादव, माओवादी जनयुद्धदेखि मधेस आन्दोलन हुँदै राजनीतिमा आएका नेता हुन् । यादव पटक–पटक मन्त्री र सांसद बनिसकेका छन् । उनले सत्ता राजनीतिलाई नजिकबाट नियालेका छन् ।

प्रमुख दलका सबै नेताहरुसँग सहकार्य गरिसकेका यादव गएको चुनावमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएपछि जसरी पनि संसद छिरेरै छाडे । अहिले उपेन्द्र सांसदको हैसियतमा सक्रिय छन् ।

मधेसमा गणतन्त्रपछि स्थापना भएका दलहरु छिन्नभिन्न मात्रै भएनन्, उनीहरु छुट्टाछुट्टै पार्टी र अध्यक्ष बने ।

अन्ततः अहिले तीन पा्र्टीहरु मधेसको राजनीतिमा सक्रिय देखिन्छन् । ती मध्ये पनि जनमत र जसपाबीच तीब्र प्रतिष्पर्धा देखिन्छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव जसरी पनि सीके राउतको पार्टीलाई सरकार र सत्ताबटट बाहिर राख्न चाहन्छन् । मधेसमा जनमतले आफ्नो पार्टीलाई धक्का दिने ठानेका उपेन्द्रले यस्तो कदम चाल्नु उनका लागि स्वभाविक भएपनि जनमत पार्टीले पनि आफ्नो पहुँच विस्तार गरिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले जनमतलाई सरकारमा ल्याउन पहल थालेपछि जसपालाई टाउको दुखाईको विषय बन्न पुगेको छ ।

उपेन्द्र जनमतलाई मधेस सरकारदेखि केन्द्र सरकारसम्म रोक्न चाहन्छन । तर, प्रचण्ड सत्ता संकट टार्नकै लागि भएपनि जनमतलाई सरकारमा ल्याउन चाहन्छन् । मधेसमा यी दुई दलहरुबीच प्रतिष्ठाको लडाई समेत हुन थालेको छ ।

उपेन्द्रले सांकेतिक रुपमा विरोध गर्ने गरेपनि जनमत पार्टीले भने खुलेरै जसपाको विरोध गर्ने गरेको छ । सीकेले मधेसमा मागहरुमा सत्ता तयार नरहेको भन्दै आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन नै दिएका छन् ।

उनले मधेस उपेक्षामा परेको भन्दै त्यसको प्रमुख कारण मधेसी दलका नेताहरु नै रहेको जिकिर गरेका छन् । जनमत पार्टी सांसद मन्त्री बन्नकै लागि नबनेको दाबी गरेका सीकेले अन्य दलहरु अध्यक्षकै नेतृत्वमा सरकारमा जाने गरेको कथन समेत सुनाएका छन् ।

जनमत पार्टीले अध्यक्षलाई सरकारमा नपठाई सांसदलाई पठाएको स्मरण गर्दै सीकेले मधेसमा अब नयाँ ढंगले राजनीति हुनुपर्ने बताउने गरेका छन् ।

यी श्रृङखला हेर्दा मात्रै पनि जनमत र जसपाबीच कडा प्रतिष्पर्धा र निषेधको राजनीति हुने संकेत बलियो बन्दै गएको छ ।

एकले अर्कोको अस्थित्वलाई स्वीकार गर्नै नसकेका दलहरुले मधेसलाई राजनीतिक रणभूमी बनाइराख्ने कि राजनीतिक सहमति र सहकार्यको आधारमा स्वच्छ प्रतिष्पर्धा गर्ने यो प्रश्न जनमत र जसपालाई पेचिलो बन्नेछ ।

Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top